बुधबार, भाद्र ३ गते २०८३

सुरक्षाको प्रत्याभूति दिलाउ: नेउवा महासङ्घ


कार्तिक ११, २०८२ मंगलबार
सुरक्षाको प्रत्याभूति दिलाउ: नेउवा महासङ्घ

नेपाल उद्योग वाणिज्य महासङ्घले जेन–जेड आन्दोलनका क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीका घटनामा संलग्नहरूलाई छानबिन गरी कानुनी कारबाही गर्न र निजी क्षेत्रको सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग आग्रह गरेको छ।

महासङ्घका सदस्य व्यवसायीहरूले दोषीविरुद्ध जाहेरी नलिइएको र कारबाहीमा उदासीनता देखिएको गुनासो गरेका छन्। महासङ्घले यस्तो अवस्थाले दण्डहीनता बढाई लगानीको वातावरण र आर्थिक क्रियाकलापमा नकारात्मक असर पार्ने, साथै रोजगारी, राजस्व सङ्कलन र लगानी प्रवर्द्धनमा दीर्घकालीन क्षति पुर्‍याउने चेतावनी दिएको छ।

आइतबार बसेको पदाधिकारी, स्थायी समिति र विभिन्न फोरमका सभापतिहरूको बैठकपछि जारी विज्ञप्तिमा महासङ्घले केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिमा आफ्ना प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न आग्रह गरेको जनाएको छ। यसबारे गृह मन्त्रालयमा औपचारिक पत्राचारसमेत गरिएको छ।

महासङ्घका निवर्तमान अध्यक्ष शेखर गोल्छाले शान्ति–सुरक्षा कायम गरी स्थायित्वतर्फ लैजान, लगानीको वातावरण विश्वसनीय बनाउन र निजी क्षेत्रको मनोबल उठाउनेतर्फ सरकारको ध्यान आवश्यक रहेको बताएका छन्।