काठमाडौं, नेपाल राष्ट्र बैंकले क्रेडिट कार्ड प्रयोग गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ। बैंकले ‘वित्तीय चेतनाका लागि’ अभियानअन्तर्गत जारी सार्वजनिक सूचनामार्फत क्रेडिट कार्डलाई जिम्मेवार र सुरक्षित रूपमा प्रयोग गर्न ग्राहकहरूलाई सचेत गराएको हो।
राष्ट्र बैंकका अनुसार क्रेडिट कार्ड ‘क’, ‘ख’ तथा ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूबाट जारी हुने विद्युतीय भुक्तानी उपकरण हो, जसको प्रयोग गरी वस्तु तथा सेवाको भुक्तानी गर्न सकिन्छ। तर, तोकिएको सीमाभन्दा बढी रकम निकाल्न नहुने चेतावनी दिइएको छ।
सूचनामा भनिएको छ, “सही रूपमा प्रयोग गर्न सकेमा यो सुविधाजनक र सुरक्षित भुक्तानीको उपकरण हो। तर, लापरबाही गर्दा उच्च ब्याज र आर्थिक समस्या निम्तिन सक्छ।”
राष्ट्र बैंकले ग्राहकहरूलाई निम्न कुरामा ध्यान दिन आग्रह गरेको छः
-
क्रेडिट सीमा,
-
शुल्क तथा ब्याजदर,
-
बिल तिर्ने मिति र भुक्तानी गर्नुपर्ने प्रक्रिया,
-
समयमा भुक्तानी नगर्दा लाग्ने जरिवाना।
ग्राहकहरूले “सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न” र “क्रेडिट कार्ड सहज ग्राहकको पहिचानमा मात्र प्रयोग गर्न” सुझाव दिइएको छ। साथै, जिम्मेवार र योजनाबद्ध रूपमा कार्ड प्रयोग गरे आर्थिक व्यवस्थापन सजिलो हुने पनि उल्लेख गरिएको छ।
नेपालपत्र संवाददाता