जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार रातिदेखि तीन दिनसम्म देशका विभिन्न उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको जानकारी दिएको छ।
महाशाखाले सोमबार सार्वजनिक गरेको विशेष मौसम बुलेटिन अनुसार, हाल देशमा पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा विकसित न्यूनचापीय प्रणालीको असर परेको छ।
यसको प्रभावस्वरूप सोमबार रातिदेखि कात्तिक १२ गते बुधबार बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा, साथै अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।
त्यस्तै, गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा भने भारी हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले उल्लेख गरेको छ।
महाशाखाले सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि तथा पर्यटन गतिविधिमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण र सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ।
नेपालपत्र संवाददाता