आइतबार, आश्विन १८ गते २०८३

असोज महिनामा आयात र निर्यात दुवै बढे, व्यापार घाटा भने उच्च


कार्तिक १०, २०८२ सोमबार
असोज महिनामा आयात र निर्यात दुवै बढे, व्यापार घाटा भने उच्च

 

काठमाडौं, चालु आर्थिक वर्ष २०८२/८३ को असोज महिनामा नेपालले २५ अर्ब रुपैयाँभन्दा बढीको वस्तु निर्यात गरेको छ । भन्सार विभागका अनुसार असोज महिनामा मात्रै २५ अर्ब ४६ करोड रुपैयाँको निर्यात भएको छ, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा उल्लेखनीय वृद्धि हो ।

तर निर्यातसँगै आयात पनि तीव्र गतिमा बढेको छ । दसैँ–तिहारजस्ता चाडबाडमा हुने किनमेलका कारण असोज महिनामा मात्र एक खर्ब ६२ अर्ब ९२ करोड रुपैयाँको वस्तु आयात भएको विभागले जनाएको छ । गत वर्षको असोजमा यो रकम एक खर्ब २८ अर्ब २० करोड रुपैयाँ थियो । यसरी हेर्दा असोज महिनामा निर्यातभन्दा आयात झन्डै सात गुणा बढी भएको देखिन्छ ।

विभागका तथ्यांकअनुसार चालु आर्थिक वर्षका पहिलो तीन महिनामा (साउनदेखि असोजसम्म) नेपालको कुल निर्यात ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । यो गत वर्षको सोही अवधिको ३८ अर्ब ३७ करोड रुपैयाँको तुलनामा करिब ९० प्रतिशतले वृद्धि हो । निर्यात वृद्धि भए पनि कुल अन्तर्राष्ट्रिय व्यापारमा यसको हिस्सा केवल १३.४६ प्रतिशत मात्र छ । गत वर्ष यो हिस्सा ८.९४ प्रतिशत थियो ।

निर्यात बढाउन सबैभन्दा ठूलो योगदान भटमास तेलको रहेको छ । तीन महिनामा नेपालले भारततर्फ ३० अर्ब ६९ करोड रुपैयाँको भटमास तेल पठाएको छ । त्यसपछि दुई अर्ब ५७ करोडको गलैँचा, दुई अर्ब १३ करोडको सूर्यमुखी तेल, एक अर्ब ७३ करोडको फेल्टका सामग्री र एक अर्ब ६७ करोडको अलैँची प्रमुख निर्यात वस्तु बनेका छन् ।

त्यस्तै, आयाततर्फ पनि भटमास तेलकै कच्चा रूप सर्वाधिक भित्रिएको छ । यस अवधिमा नेपालले ३० अर्ब २४ करोड रुपैयाँको कच्चा भटमास तेल आयात गरेको छ । त्यसपछि २० अर्ब ६९ करोडको डिजेल, १७ अर्ब ११ करोडको रासायनिक मल, १६ अर्ब ७६ करोडको पेट्रोल, १३ अर्ब ६२ करोडको एलपी ग्यास र १२ अर्ब ५१ करोडको स्मार्टफोन आयात भएको छ ।

तीन महिनाको कुल आयात तीन खर्ब पाँच अर्ब रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा करिब २० प्रतिशतले वृद्धि हो ।