नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनमार्फत बिजुली प्रयोग गरी प्रिमियम महसुल नतिर्ने २५ उद्योगको लाइन काटेको छ। प्राधिकरणले २८ किस्तामा बक्यौता तिर्न २१ कार्यदिनको समय दिएको भए पनि सम्पर्कमा नआएका उद्योगको आपूर्ति बन्द गरिएको हो।
केहि दिन ६ ठूला उद्योग—जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ—को लाइन काटिएको थियो। यी उद्योगहरूमाथि मात्र करिब रु. ४.३ अर्ब बक्यौता छ।
थप १८ उद्योग, हिमाल आइरन, त्रिवेणी सिन्थेटिक, कसमस सिमेन्ट, पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलबारी स्वचालित, जगदम्बा सिन्थेटिक, एभरेस्ट रोलिङ, घराना फुड्स, विशाल सिमेन्ट, एसआर फुड्स, सिद्वार्थ पेट प्लास्ट, बुटवल सिमेन्ट, सोना मिनरल्स एन्ड आयल्स र निगाले सिमेन्टको लाइन पनि काटिएको छ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार किस्ताबन्दी सुविधा उपयोग गरेका उद्योगको बिजुली नकाटिएको र आदेश पाएका ६ उद्योगको लाइन रोकिएको छ। हेटौँडा र उदयपुर सिमेन्टले भुक्तानी प्रतिबद्धता जनाएकाले तिनीहरूको आपूर्ति यथावत् छ।
प्राधिकरणले गत असोज १२ गते सार्वजनिक सूचनामार्फत सञ्चालक समितिको निर्णय अनुसार बक्यौता रकम किस्तामा तिर्न आउन आह्वान गरको थियो ।
नेपालपत्र संवाददाता