शनिबार, आश्विन १७ गते २०८३

भाइटीका लाउन नसक्ने भएँ


कार्तिक ७, २०८२ शुक्रबार
भाइटीका लाउन नसक्ने भएँ

 !               (शार्दूलविक्रीडित)

-----------------------------------------------------

ताकी बन्दुक हानिएछ शिरमा ऐया नभन्दै ढले

यस्ता धेर युवा विनाकसुरमा मार्यो यहाँ देशले

हुन् को को पहिचान गर्न तिनको आफैँ अगाडि सरेँ

आफ्नै भाइ समेत त्यो सडकमा देखेर मुर्छा परेँ ।१।

आफैँ त्यो तनको सफा रगतमा आहाल खेल्दै थियो

मेरै नाम लिँदै मरेँ अब दिदी! यै शब्द बोल्दै थियो

छेवैमा म पुगेँ नियाल्न तर ऊ निष्प्राण भैगो अब

पानीसम्म सकेन निल्न उसले छाडेर गैगो अब ।२।

भ्रष्टाचार विरुद्ध होमिन पुगे जेन्जी हजारौँ जब

बौलायो सरकार हिंसक बनी लायो निसाना तब

मेरो भाइ समानका कति मरे आधा मरेका कति

कैयौँ मुर्छित अस्पताल लगिए ज्युँदै रहेका कति ।३।

आएको छ तिहार सामु अहिले माला म गासूँ किन

टीका लाउन हैन दु:खित बनी श्रद्धाञ्जली अर्पिन

प्यारो भाइ दिदी ! भनेर कहिल्यै फर्किन्न हाम्रो घर

खुल्ने छैन गला निधार उसको रङ्गीन भै सुन्दर ।४।

हेर्नै सक्दिन सम्झिँदा झलक त्यो आमाबुबाको मुख

बोल्नै सक्दिन शब्द छन् हृदयमा खुल्दैन मेरो मुख

कोठाभित्र किताब छन् कलम छन् देखिन्छ त्यो तस्बिर

त्यो हेर्दा पनि दुख्छ घाउ दिलको फर्किन्छु अर्कैतिर।५।

तिम्रो भाइ मरेन त्यो सहिद भो हो वीर योद्धा अब

भन्छन् मित्र र बन्धुबान्धवहरू सम्झाउँदै छन् सब

कस्तो देश बनाउने रहर त्यो बुझ्नै नसक्ने भएँ

त्यो फिर्दैन तिहार मान्न कहिल्यै पुज्नै नसक्ने भएंँ।६।

-------------------------