जेनजी आन्दोलनका क्रममा देशभर भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिमा पुगेको क्षतिबापत हालसम्म करिब दुई अर्ब रुपैयाँ बराबरको बिमा भुक्तानी भइसकेको छ।
नेपाल बिमा प्राधिकरणका अनुसार हालसम्म ३,१६३ बिमा दाबी दर्ता भई जम्मा २५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको दाबी दर्ता भएको छ। तीमध्ये एक अर्ब ९५ करोड ४७ लाख रुपैयाँ भुक्तानी भइसकेको छ।
सञ्चालनमा रहेका १४ निर्जीवन बिमा कम्पनी र चार माइक्रो इन्स्योरेन्स कम्पनीहरूले बाँकी २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ।
दाबीमध्ये रकमका हिसाबले सम्पत्ति बिमा सबैभन्दा बढी प्रभावित भएको छ भने सङ्ख्याका आधारमा मोटर बिमा सर्वाधिक रहेको छ।
-
सम्पत्ति बिमा : ६७३ दाबी, कुल दाबी १९ अर्ब ७१ लाख, भुक्तानी १ अर्ब ५५ करोड १७ लाख।
-
मोटर बिमा : २,२५६ दाबी, कुल दाबी ३ अर्ब ४४ करोड ९५ लाख, भुक्तानी करिब ३६ करोड २५ लाख।
-
इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमा : १८२ दाबी, कुल दाबी ३ अर्ब ३३ करोड १८ लाख, भुक्तानी करिब ३ करोड ८१ लाख।
-
अन्य बिमा शीर्षकहरू : ४० दाबी, कुल दाबी ३८ करोड ८६ लाख, भुक्तानी २२ लाख।
-
परिवहन बिमा : १२ दाबी, कुल दाबी १ करोड ६३ लाख, भुक्तानी अझै भएको छैन।
प्राधिकरणका अनुसार दाबी मूल्याङ्कन र प्रमाणीकरणको प्रक्रिया तीव्र रूपमा अघि बढाइरहेको छ, ताकि आन्दोलनका कारण क्षति बेहोरेका व्यवसायी र सर्वसाधारणले शीघ्र राहत पाउन सकून्।
नेपालपत्र संवाददाता