आइतबार, आश्विन १८ गते २०८३

धितोपत्र बोर्डको ढिलाइले ऊर्जा लगानी संकटमा–इप्पान


आश्विन ३०, २०८२ बिहीबार
धितोपत्र बोर्डको ढिलाइले ऊर्जा लगानी संकटमा–इप्पान

 

काठमाडौं — स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल (इप्पान)ले जलविद्युत् कम्पनीको आईपीओ र हकप्रद शेयर निष्काशनमा धितोपत्र बोर्डले गरेको दीर्घ ढिलाइका कारण निजी क्षेत्रका लगानीकर्ता निरुत्साहित भएको बताउँदै तत्काल समाधान गर्न सरकारलाई आग्रह गरेको छ।

इप्पानले गरेको एक पत्रकार सम्मेलनमा अध्यक्ष गणेश कार्कीले २८ महिनादेखि भएको ढिलाइका कारण ९७५ मेगावाट बराबरका ४३ कम्पनीको आईपीओ र सात कम्पनीको हकप्रद शेयर निष्काशन रोकिएको बताए। उनका अनुसार यसले एक खर्ब आठ अर्ब ५० करोड बराबरको आर्थिक क्षति पुर्‍याएको छ।

इप्पानले ‘रियल नेटवर्थ’ नामक नयाँ मापदण्डका कारण केही कम्पनी आवेदनबाट हटाइएका निर्णय कानुनविपरीत रहेको आरोप लगाएको छ। साथै, निर्माणाधीन परियोजनाले पनि आईपीओ निष्काशन गर्न पाउने व्यवस्था पुनः लागू गर्न माग गरेको छ।

संस्थाले नि:शुल्क सेयर माग्दै आयोजना अवरोध गर्ने घटनाप्रति चिन्ता जनाउँदै यस्तो प्रवृत्तिले ऊर्जा लगानीमा संकट ल्याउने चेतावनी दिएको छ। माग तत्काल सम्बोधन नभए आन्दोलन गर्ने चेतावनीसहित इप्पानले प्रधानमन्त्रीदेखि धितोपत्र बोर्ड अध्यक्षसम्म ध्यानाकर्षण गराउने तयारी गरेको छ।