भाद्र महिनामा पाैने २ खर्ब रेमिट्यान्स भित्रिएकाे छ। भदौ महिनामात्रै एक खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही महिनाको एक खर्ब २७ अर्ब ९९ करोड रुपैयाँभन्दा धेरै हो।
चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो दुई महिनामा गरेर साढे तीन खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले मङ्गलबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिबारेको पछिल्लो विवरण अनुसार, दुई महिनामा रेमिट्यान्स ३३.१ प्रतिशतले बढ्दै तीन खर्ब ५२ अर्ब आठ करोड रुपैयाँ पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १५.८ प्रतिशतले मात्र बढेको थियो।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह पनि उल्लेख्य वृद्धि भएको छ — २७.६ प्रतिशतले बढ्दै दुई अर्ब ५२ करोड डलर पुगेको छ।केन्द्रीय बैंकका अनुसार देशको विदेशी मुद्रा सञ्चिति २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ, जसले १६ महिनासम्मको वस्तु तथा सेवा आयात धान्ने क्षमता राख्छ।
नेपालपत्र संवाददाता