आइतबार, आश्विन १८ गते २०८३

ठूला जलविद्युत् आयोजना निर्माणमा कोरियाली लगानी भित्र्याउन मन्त्री घिसिङको आग्रह


आश्विन २८, २०८२ मंगलबार
ठूला जलविद्युत् आयोजना निर्माणमा कोरियाली लगानी भित्र्याउन मन्त्री घिसिङको आग्रह

काठमाण्डाै,  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपालका ठूला जलविद्युत् आयोजना निर्माणमा कोरियाली लगानी ल्याउन आग्रह गरेका छन् । नेपालका लागि कोरियाली राजदूत पार्क ताइयोङसँग सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा मन्त्री घिसिङले यस्तो आग्रह गरेका हुन् । 

सो अवसरमा मन्त्री घिसिङले नेपाल–कोरियाबीच दीर्घकालीन सहकार्य रहेको उल्लेख गर्दै ऊर्जा सन्तुलन र विद्युत् निर्यात लक्ष्यका लागि ५०० मेगावाटभन्दा ठूला आयोजना निर्माणमा सहकार्य गर्न कोरियाली पक्षलाई अनुरोध गर्नुभयो ।

अरुण नदी कोरिडोर र पूर्व–पश्चिम प्रसारण लाइनलाई जोड्ने इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइनमा कोरियन आयातनिर्यात (एक्जिम) बैंकमार्फत प्राप्त हुने सहायतालाई चाँडो टुंग्याउन, साथै रेलमार्ग निर्माण, सञ्चालन र मर्मतको क्षमता विस्तारमा पनि सहयोग गर्न समेत मन्त्री घिसिङले आग्रह गरे । 

मन्त्री घिसिङले सरकारी तह वा कोरियाली निजी कम्पनीमार्फत लगानी ल्याउन सकिने बताउँदै, हरित हाइड्रोजन उत्पादनको नमुना परियोजना निर्माणका लागि पनि सहकार्य गर्न, रोजगारी अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरिया जाने नेपाली श्रमिकको कोटा वृद्धि गर्न, सीप विकास तालिम विस्तार र फर्किएका श्रमिकलाई स्वदेशमै उद्यमशीलतामा जोड्न सहयोग गर्न अनुरोध गरे । 

राजदूत पार्कले प्रसारण लाइन निर्माणका लागि आवश्यक सहायता उपलब्ध गराउने विषयमा अर्थ मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए । उनले कोरियन सरकारी कम्पनीको लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको प्रगति करिब ७० प्रतिशत पुगेको र आगामी डिसेम्बरसम्म मुख्य सुरुङ छिचोल्ने तयारी भइरहेको उल्लेख गरे ।