आइतबार, आश्विन १८ गते २०८३

राष्ट्र बैंकले रेमिट्यान्स सीमा बढायो, २५ लाखसम्म ल्याउन सकिने


आश्विन २४, २०८२ शुक्रबार
राष्ट्र बैंकले रेमिट्यान्स सीमा बढायो, २५ लाखसम्म ल्याउन सकिने

 

काठमाडौं, नेपाल राष्ट्र बैंकले विदेशबाट पठाउन सकिने रेमिट्यान्स (विप्रेषण) रकमको सीमा वृद्धि गरेको छ। अबदेखि फिर्ता नगर्ने गरी पठाइने रेमिट्यान्स रकम २० लाख रुपैयाँबाट बढाएर २५ लाख रुपैयाँसम्म ल्याउन सकिने भएको हो।

केन्द्रीय बैंकका अनुसार नेपाली वा विदेशी नागरिक, साथै नेपालमा दर्ता भएका फर्म तथा कम्पनीहरूले सम्पत्ति बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायतका प्रयोजनका लागि विदेशबाट पठाएको रकम विप्रेषण कम्पनीमार्फत खातामा जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ। नयाँ व्यवस्थाअनुसार दैनिक २५ लाख रुपैयाँसम्मको रकम फिर्ता नहुने रेमिट्यान्सका रूपमा नेपाल ल्याउन पाइने छ।

राष्ट्र बैंकले विप्रेषण कम्पनीहरूलाई रकम संकलन र भुक्तानी गर्दा प्रचलित कानुनअनुसार ग्राहकको पहिचान कागजात अनिवार्य रूपमा लिनुपर्ने स्पष्ट गरेको छ। साथै, यसरी आएको रेमिट्यान्सबारे प्रत्येक महिना समाप्त भएको सात दिनभित्र सम्बन्धित विभाग, सुपरीवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागलाई जानकारी दिनुपर्ने व्यवस्था पनि गरिएको छ।