हालै परेको अविरल वर्षा र लगत्तै आएको बाढी तथा पहिरोका कारण भौतिक पूर्वाधारतर्फ देशभर सवा सात अर्ब रुपैयाँबराबरको क्षति भएको छ ।
क्षतिको यो रकम बिपी राजमार्गबाहेकको हो । बिपी राजमार्गमा अघिल्लो वर्षको बाढी पहिरोले क्षति पुर्याएको थियो । तत्कालिन समयमा सरकारले आफ्नै स्रोतबाट करिब ११ करोड रुपैयाँ परिचालन गरी तत्कालको लागि डाइभर्सन सडक निर्माण गरेर यातायात सुचारु गरेको थियो । यो वर्षको बाढी पहिरोले त्यहि डाइभर्सन बगाएको हो । बाढी पहिरोका कारण सडक सञ्जाल र पुल पुलेसामा यो रकम हाराहारीमा क्षति भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षति पुगेका भौतिक संरचनाहरु पुनर्निर्माण गर्न करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने जनाएको छ ।
मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार गत असोज १७ गतेदेखि १९ गतेसम्म आएको मनसुनजन्य बाढी पहिरोका कारण प्रमुख राजमार्ग, वैकल्पिक सडक, हुलाकी राजमार्ग, बेलिब्रिज र स्थायी पुलहरु क्षतिग्रस्त बनेको थियो । क्षतिग्रस्त यस्ता संरचनाहरु पुनर्निर्माण गर्न १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान मन्त्रालयले गरेको छ । यसबाहेक गत वर्ष यहि वेलामा बाढी पहिरोले क्षति पुर्याएका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ बिनियोजन गर्न बाँकी छ ।
यो वर्ष मनसुनजन्य विपद्बाट सबैभन्दा बढी मेची राजमार्गमा क्षति पुगेको छ । मेची राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । क्षति भएका कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट—मुग्लिङलगायतका राजमार्गको पुनर्निर्माणका लागि झण्डै तीन अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान छ ।
त्यस्तै क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा चार अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ । क्षति पुगेका र सडक सञ्चालनका लागि नयाँ बेलिब्रिज निर्माणका लागि ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । बैकल्पिक सडक पुनर्निर्माणका लागि एक अर्ब ५९ करोड रुपैयाँ लाग्ने मन्त्रालयले जनाएको छ ।
नेपालपत्र संवाददाता