आइतबार, आश्विन १८ गते २०८३

निर्वाचन कार्यतालिका जारी, नयाँ दलले कार्तिक ३० भित्र निर्वाचन आयोगमा दर्ता हुनुपर्ने


आश्विन २१, २०८२ मंगलबार
निर्वाचन कार्यतालिका जारी, नयाँ दलले कार्तिक ३० भित्र निर्वाचन आयोगमा दर्ता हुनुपर्ने

 

निर्वाचन आयोगले आगामी फागुन २१ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचन हुने निर्णय गर्दै यसको कार्यतालिका स्वीकृत गरेको छ। मतदानपछि दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका सङ्कलन गरी मतगणना प्रारम्भ गरिने आयोगले जनाएको छ।

निर्वाचन कार्यतालिका अनुसार आवश्यक सबै तयारी चरणबद्ध रूपमा अघि बढाइने आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने कार्यक्रम मङ्सिर १ गतेदेखि १० गतेसम्म तोकिएको छ। आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानूनी व्यवस्था भएकाले कात्तिक ३० गतेभित्र राजनीतिक दल दर्ताको प्रमाणपत्र लिनुपर्ने आयोगले जनाएको छ।

समानुपातिक निर्वाचन प्रणालीका लागि मङ्सिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८ र १९ गते बन्दसूची पेस गर्ने कार्यक्रम तय गरिएको छ। पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि भने माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ।

निर्वाचन प्रचारप्रसारका लागि फागुन ३ देखि १८ गतेसम्म समय तोकिएको छ। त्यसपछि प्रचारप्रसार निषेधको अवधि लागू हुनेछ।

निर्वाचनमा राजनीतिक दल र सरोकारवालाबीच समन्वय तथा सहकार्य सुनिश्चित गर्न आयोगले समय–समयमा परामर्श र छलफल गर्ने जनाएको छ।