बुधबार, भाद्र ३ गते २०८३

मसीले लेखेको झुटले रगतमा लेखिएको सत्यलाई लुकाउन सक्दैन.... 🈶 : लु ह्सुन


आश्विन २१, २०८२ मंगलबार
मसीले लेखेको झुटले रगतमा लेखिएको सत्यलाई लुकाउन सक्दैन.... 🈶 : लु ह्सुन
प्रख्यात चिनिया लेखक लु ह्सुन (१८८१–१९३६) को वास्तविक नाम चाउ शुरेन (Zhou Shuren) हो । ‘लु सुन’ बाट ‘तीन अधिराज्य’ भन्ने अर्थ आएपछि उनले नामको चिनिया हिज्जेमा सुधार गरी ‘ज्वालामुखी पहाडको मुख’ (क्रेटर) अर्थ दिने नाम ‘लु ह्सुन’ बनाए । जापानमा उनलाई ‘रोजिन’ नामले चिनिन्छ । ताईवानमा उनका कृतिहरू प्रतिबन्धित छन् । १९२७ मा उनलाई ‘आह की को सत्यकथा’ (The True Story of Ah Q) कृतिको लागि नोबेल साहित्य पुरस्कारको सिफारिश पनि भएको थियो, तर उनले सिफारिशप्रति नै विमति जनाईदिए ।
लु ह्सुन आधुनिक चिनिया साहित्यका सर्बाधिक चर्चित तथा बहुआयामिक व्यक्तित्वको नाम हो । लेखक, निबन्धकार, छोटा कथा लेखक, समालोचक, कवि, अनुवादक, सम्पादक जस्ता विविध विधामा उनको दखल थियो । उनका कतिपय प्रख्यात कृतिहरू नेपालीमा पनि अनुदित छन् । उनको प्रख्यात छोटो कथा ‘बौलाहाको डायरी’ (तल्लो फोटो) कै नाममा प्रकाशित कथा संग्रह मैले पढेको पहिलो कृति हो । धरानमा पढ्न बस्दा उनका एक–दुई अन्य उपन्यास र कथाहरू पढ्ने मौका मिलेथ्यो ।
वास्तबमा परम्परावादी चिनिया लेखनशैली र मान्यतालाई चिरेर लेखिएको ‘बौलाहाको डायरी’ (१९१८) ले उनलाई ‘नवसांस्कृतिक आन्दोलन’ का विचारकको रुपमा समेत सर्वाधिक चिनायो । १९१२–१७ को अवधिमा उनले गौतम बुद्धका उपदेश र सूत्रहरू पनि अध्ययन गरेको पाइन्छ । जीवनको अन्त्यतिर उनले लेखेका छोटा कथाहरूको संग्रह ‘पुनःवर्णित उहिलेका कथा’ (Old Tales Retold) अन्तिम कृति (१९३४) हो । ‘मृत्युहरू’ (Deaths) र ‘यो पनि जीवन’(This too Is Life?) जस्ता कृति पनि उनले अन्तिम अवस्थातिर शरीरमा आराम भएपछि लेखेका रहेछन् ।
Painting-of-Lu-Xun.jpg
सन् १९४९ पछिको कम्युनिस्ट चीन र अध्यक्ष माओ त्से–तुङ्ले ‘आधुनिक चीनका महान् मनिषी' भनी उच्च प्रशंसा र कदर गरिएका लब्ध प्रतिष्ठित चिनिया लेखक हुन् लु ह्सुन । तर माओले नै एक प्रसंगमा स्वीकार गर्नुभएको रहेछ, ‘लु ह्सुन १९५० सम्म बाँचिराख्या भए या उनलाई जेल हालिन्थ्यो वा चुप लाग्ने कडा आदेश दिइन्थ्यो....।’ विश्वभरि नै यिनका साहित्यिक एवं लेखकीय योगदानका प्रशंसक छन् । उनी चिनिया समाजवाद (जनवाद) प्रति एक स्वतन्त्र शुभेच्छुक थिए तर मरणोपरान्त मानार्थ सदस्यता दिएको बाहेक, आजीवन कम्युनिस्ट पार्टीको सदस्यता भने लिएनन् । तीसको दशकमा उनी शाङ्घाएस्थित वामपन्थी लेखक लीगको मानार्थ प्रमुख रहे ।
लु ह्सुनको जन्म, चीनको भुँडीजस्तो पूर्ववर्ती समुद्र किनार, शाङ्घाए निकटको शाओसिङ्को एउटा खातापिता जमिनदार परिवारमा भयो । तर उनी युवावस्थामा पुग्दा जमिनदार परिवार सम्पत्तिविहिन हैसियतमा झर्यो । बाबु झाउ बोई सरकारी जागीरमा पस्न अधिकारीहरूलाई घुस खुवाउन खोजेको आरोप लागेपछि फरार भए, तर त्यसको सट्टा बाजे पो पक्राउ परे । त्यसपछि बाबु अफिम र रक्सीका भयानक अम्मली हुनपुगे, त्यसैबाट ३५ वर्षकै उमेरमा ज्यान गयो (१८९६)।
लु ह्सुनले पनि तत्कालीन राज्यको ‘लोक सेवा’ जाँच दिएर सरकारी जागीरमा पस्न त खोजे, तर घर–परिवारको प्रतिकूल अवस्थाले गर्दा सरकारी अनुदानमा सञ्चालित स्थानीय विद्यालयमा ‘पश्चिमी शिक्षा’ को शिक्षकका रुपमा बस्नुपर्ने भयो ।
स्नातक भएपछि उनी मेडिकल स्कूलमा पढ्न जापान गए तर घर परिवारले पढाई धान्न नसक्ने भएपछि पढ्न छोडिदिए र चीन नै फर्के । त्यही बेलादेखि उनी साहित्यतिर लागे । धेरै वर्ष स्थानीय विद्यालय र कलेजमा पढाएर बसे । र अन्त्यमा गणतन्त्र चीनको शिक्षा मन्त्रालयमा सरकारी जागीर पाए ।
धूमपानको अत्यधिक आदतले दिएको क्षयरोग, क्रोनिक ब्रोङ्काईटिस र दमको रोगले अक्टोबर १९ को सबेरै ५ बजेतिर, एक छोराका बाबु यी महान लेखक धर्तीबाट विदा भए ।
"Lies written in ink cannot obscure a truth written in blood."