अमेरिकाका सोह्रौँ राष्ट्रपति अब्राहम लिङ्कन (१८०९–१८६५) अमेरिकी राजनेता तथा कानुनवेत्ता हुन् । उनले १८६१ देखि १८६५ मा हत्या भएको बेलासम्म राष्ट्रपति पद सम्हाले । दक्षिणका सात दास बहुल राज्यले संयुक्त राज्यबाट आफूलाई स्वतन्त्र भएको घोषणा गरेपछि लिङ्कनकै कार्यकालमा भड्केको अमेरिकाको गृहयुद्धका बेला यिनी राष्ट्रपति थिए ।
राजनीतिक तथा संवैधानिक संकट र गिरेको राष्ट्रिय मनोबलका बेला यिनले मुलुकलाई सम्हाले । यस क्रममा उनले संयुक्त राज्यहरूलाई एकजूट राख्न, दास प्रथाको अन्त्य गर्न, संघीय सरकारलाई बलियो बनाउन, बैंकको विकास, रेलवेको सुधार, शहरीकरण ब्यवस्थापनजस्ता कदमद्वारा अर्थतन्त्रलाई आधुनिकीकरण गर्न एवं अमेरिकी लोकतन्त्रलाई जनजीवन उपयोगी बनाउन यिनले खेलेको भूमिका आज पनि अमेरिकामा ताजै छ । राष्ट्रपतिहरू मध्ये यिनलाई अमेरिकी जनताले सर्वाधिक श्रद्धा गर्दछन् ।
केन्टुकी राज्यको एकतले र एक कोठे काठको घर (फोटो) मा यिनको जन्म भयो गरिब परिवारमा । गुड फ्राइडे पर्वका दिन जोहन विल्केस बुथ नामक एक जातीवादी गोराले एकदमै नजिकबाट गोली हानेर यिनको हत्या गर्यो फोर्ड थिएटरमा कार्यक्रम हेरिरहेका बेला राती सवा दश बजेतिर । नाचघरको कार्यक्रममा मध्यान्तर हुँदा उनको अंगरक्षक केही खानका लागि बाहिर निस्केको बेला अति महत्वपूर्ण व्यक्तिको लागि बनाइएको विशेष दर्शक कक्षमै पसेर उनको हत्या गरियो ।
लिङ्कनको यो भनाई १७ सेप्टेम्बर १८५९ मा अमेरिकाको ओहायो राज्यमा पर्ने सिन्सिन्नाटीमा उनले दिएको ऐतिहासिक भाषणमा छ । यसलाई ‘द पेपर्स् एण्ड राईटिङ्स् अफ अब्राहम लिङ्कन’ को खण्ड ५ को संवैधानिक संस्करणबाट झिकिएको हो । ‘प्रोजेक्ट गुटेनबर्ग’ ले जुलाई ५, २००९ मा अनलाईन उपलब्ध गराएको थियो । यसको अझ पूर्णरुप :
"The people of these United States are the rightful masters of both Congresses and courts, not to overthrow the Constitution, but to overthrow the men who pervert the Constitution."
चन्द्रमणि गाैतम