मन्त्रिपरिषद्को असोज ९ गते बसेको बैठकले जनकराज शर्मालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको छ। उनले आज असोज १० गते अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै प्राधिकरणमा पदबहाली गरेका छन्।
यसअघि गत असार ३० गते केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले सहसचिव सेवन्तक पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष तोकेको थियो। तर, सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले उनलाई फिर्ता बोलाएको हो।
प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझाविरुद्ध उजुरी परेपछि सरकारले बीमा ऐन, २०७९ को दफा १२९२० बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समिती गठनसँगै ओझा स्वतः निलम्बनमा परे।
ओझाले आफूलाई पदमुक्त गर्ने मन्त्रिपरिषद् निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्दै पुनर्बहालीको माग गरेका थिए। सर्वोच्चले भदौ २३ गते अल्पकालीन आदेश जारी गरी मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न निर्देशन दियो। त्यसकै आधारमा निलम्बित ओझा भदौ ३१ गते प्राधिकरण कार्यालयमा हाजिर भए। तर, अन्तरिम सरकारले असोज २ गते निर्णय गर्दै उनलाई अध्यक्षका हैसियतमा काम नगर्न आदेश गरेकाे थियाे।
प्राधिकरणमा अध्यक्ष नभएको अवस्थामा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यलाई सरकारले अध्यक्ष नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
नेपालपत्र संवाददाता