काठमाण्डाै । पुँजी बजारलाइ भदौ २३ र २४ का ध्वंसात्मक घटनाले प्रभावित बनाएकाे देखिएकाे छ । जेन जी आन्दोलनपछि पहिलोपटक खुलेको सेयर बजारमा लगानीकर्ताको मनोवृत्ति अनिश्चिततामा डुबेको देखियो ।
बिहीबार नेप्से परिसूचक लगातार तीन पटक नेगेटिभ सर्किट ब्रेक लागेकाले कारोबार नै स्थगित हुन पुग्यो । बजार खुल्दै दुई मिनेटमै ४ प्रतिशतले घट्नु लगानीकर्तामा गहिरो मानसिक प्रभाव परेको संकेत हो । त्यसपछि २० मिनेट स्थगित भएपनि पुनः खुलेको बजारमा आत्मविश्वास फर्कन सकेन र परिसूचक फेरि ५ प्रतिशतसम्म झर्यो । अन्ततः १२:०४ बजे खुलेको कारोबार फेरि ६ प्रतिशत घटेपछि बजार आजका लागि पूर्ण रूपमा बन्द भयो ।
नेप्से १६० अंकले घटेर २५११ मा झरेको छ । कुल ७२ करोड ८७ लाख रुपैयाँको कारोबार भए पनि यो कारोबार करिब ४ मिनेटभित्र मात्रै सीमित रह्यो ।
गत साताका घटनाक्रम पछिको पहिलो प्रतिक्रियास्वरूप पूँजी जोगाउने र छोटो अवधिमा सेयर बेचेर नगद हातमा राख्ने दबाब बढेकाले बजारमा तीव्र गिरावट आएको देखिन्छ । यसालाइ ‘प्यानिक सेल’ को परिणाम मान्न सकिन्छ। लगानीकर्ताको आत्मविश्वास तत्काल पुनर्स्थापित हुन नसकेको याे सूचक हो ।
यसबीच केही लगानीकर्ताले यसलाई ‘अवसर’ को रूपमा पनि हेरेका छन्, तर त्यस्तो धारणा अहिले न्यून मात्रामा देखिन्छ । बहुमत लगानीकर्ताले तत्कालीन अवस्था स्थिर नभएसम्म प्रतीक्षाको रणनीति रोज्ने सम्भावना बढी देखिएकाे छ ।
नेपालपत्र संवाददाता