आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा नेपालमा भित्रिएको विप्रेषण आप्रवाह उल्लेख्य मात्रामा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साे महिनामा विप्रेषण २९.९ प्रतिशतले बढेर रु. १७७ अर्ब ४१ करोड पुगेको छ।
अघिल्लो वर्ष २०८१/८२ को सोही महिनामा विप्रेषण १७.७ प्रतिशतले बढेर रु. १३६ अर्ब ६० करोडमा सीमित भएको थियो। यसले गर्दा यस वर्षको वृद्धिदर अघिल्लो वर्षको तुलनामा बढी हुने देखिएको छ।
डलरमा हेर्दा पनि विप्रेषण आप्रवाह मजबुत बनेको छ। साउनमा अमेरिकी डलरमा विप्रेषण २५ प्रतिशतले बढेर १ अर्ब २७ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो वृद्धिदर १५.८ प्रतिशत मात्र थियो। समीक्षा अवधिमा खुद द्वितीय आय पनि बढेको छ। यो रु. १९३ अर्ब ८५ करोड पुगेको छ, जुन अघिल्लो वर्ष साउनमा रु. १४८ अर्ब ८ करोड मात्र थियो।
त्यस्तै, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या यस साउनमा ४४,४६६ पुगेको छ। अघिल्लो वर्ष साउनमा यो संख्या ३६,९२८ थियो। पुनः श्रम स्वीकृति लिने श्रमिकको संख्या पनि २२,६४७ बाट बढेर २३,६४४ पुगेको छ।
यसअघि २०८२ असारमा भित्रिएको विप्रेषण रु. १२० अर्ब २८ करोड मात्र रहेकोमा साउनमा भने बढेर रु. १७७ अर्ब नाघेको देखिन्छ।
नेपालपत्र संवाददाता