बुधबार, भाद्र ३ गते २०८३

पहिलो महिनामा निर्यात झण्डै दोब्बर, आयात र ब्यापार घाटामा पनि वृद्धि


भाद्र ३१, २०८२ मंगलबार
पहिलो महिनामा निर्यात झण्डै दोब्बर, आयात र ब्यापार घाटामा पनि वृद्धि

 

आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा देशको वस्तु निर्यात झण्डै दोब्बर वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विवरण अनुसार  अनुसार उक्त अवधिमा कुल वस्तु निर्यात ९५.७ प्रतिशतले बढेर रु. २३ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा भने निर्यात ९.६ प्रतिशतले घटेको थियो।

गन्तव्य मुलुकका आधारमा भारततर्फको निर्यात १५६.७ प्रतिशतले वृद्धि भएको छ । तर चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६५.२ प्रतिशत र १.४ प्रतिशतले घटेको छ। वस्तुगत हिसाबले भटमासको तेल, पाम तेल, पोलिस्टर धागो, अलैंची, जुटका सामान आदिको निर्यात बढेको देखिएको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैंचा, पिना र चियाको निर्यातमा कमी आएको छ।

यसै अवधिमा कुल वस्तु आयात पनि बढेको छ । राष्ट्र बैंकका तथ्याङ्कअनुसार साउन महिनामा आयात ११.४ प्रतिशतले बढेर रु. १४३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा आयात ०.६ प्रतिशतले घटेको थियो। मुलुकगत आधारमा भारतबाट आयात ७.५ प्रतिशत, चीनबाट १४.१ प्रतिशत र अन्य मुलुकबाट २०.५ प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा भटमासको कच्चा तेल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, चामल/धान, कोइला र रासायनिक मलजस्ता वस्तुको आयात बढेको छ । तर हट रोल्ड शिट इन क्वाइल, खाने तेल, पेट्रोलियम पदार्थ, अन्य मेसिनरी तथा पार्टस् र तेलहनजस्ता वस्तुको आयात घटेको देखिएको छ।

यसरी, निर्यात र आयात दुवै बढे पनि व्यापार घाटा अझै उच्च नै छ । साउनमा कुल व्यापार घाटा २.५ प्रतिशतले बढेर रु. ११९ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ०.४ प्रतिशतले मात्र बढेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १६.७ प्रतिशतमा पुगेको छ, जुन अघिल्लो वर्षको ९.५ प्रतिशतभन्दा उल्लेख्य सुधार हो।