बुधबार, भाद्र ३ गते २०८३

जेन्जी आन्दोलन अन्त्य हुँदै गर्दा


भाद्र ३१, २०८२ मंगलबार
जेन्जी आन्दोलन अन्त्य हुँदै गर्दा
 
आकाङ्क्षाहरू धेरै छन् थोरै छन् स्रोत साधन
भ्रष्टाचार गरी शून्य जितेर सबको मन
निस्फिक्री कर्ममा लाग्नू जनता छन् दिने भर
सफा दृष्टि भए बन्छ नेपाल फेरि सुन्दर ।
 
जब शासन गर्नेले मिच्दछन् सब कानुन
भ्रष्टाचारीहरूलाई सक्तैनन् तिनले छुन
त्यसैले देश लुट्नेको सीमा नाघ्यो निरन्तर
निस्फ्रिकी लुटिए हाम्रा सम्पदाका धरोहर ।
 
जेन्जीको नाममा यौटा दरो शक्ति सर्यो अघि
चढाए देशका निम्ति केही दर्जन जिन्दगी
सरकार नयाँ आयो पुरानो भत्कियो सब
आशावादी बनेका छन् देशका जनता अब ।
 
त्यो दुर्दान्त कथाजस्तो बीभत्स घटनाक्रम
सपना हो कि साँच्चै हो लागेकै छ अझै भ्रम
अभिभावक जो आफैँ गोली हान्छ निरन्तर
छ कोलाहल चीत्कार डढेका छन् सयौँघर ।
 
बिकेका बिग्रिएका छन् पुराना सब ती दल
सारथि छन् त्यहाँभित्र ज्यानमारा महाखल
निल्छन् पर्वत पैसाका सुन चाँदी जुहारत
सम्झिन्छन् वीरको देश एकलौटी बिरासत।
 
सरकार नयाँ आयो लोककल्याण खातिर
समस्याका सयौंँ थुप्रा छन् रहेका सबैतिर
विनास्वार्थ विनासर्त विनाभेद विनाछल
अहोरात्र खटेमात्र मिल्छ त्यो लक्ष्यको फल ।
 
** अनुष्टुप् छन्द **