नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा उद्यमी चन्द्र ढकालले हालैको जेनजी पुस्ताको प्रदर्शनका क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमा भएको तोडफोड तथा आगजनी घटनाप्रति गहिरो पीडा व्यक्त गर्दै पनि निजी क्षेत्र निराश नहुन आग्रह गरेका छन् । उनले सबै उद्योगी–व्यवसायीलाई एकताबद्ध भएर क्षतिग्रस्त उद्योग–व्यवसाय पुनर्निर्माण र थप लगानीमार्फत रोजगारी सिर्जनामा जुट्न आह्वान गरेका छन् ।
ढकालका अनुसार हालैका घटनाले हजारौँको रोजगारी संकटमा पारेको छ, अर्बौँको संरचना खरानी भएको छ र ठूलो लगानी धरापमा परेको छ । उनका आफ्नै आयोजना समेत तोडफोड र आगजनीको चपेटामा परेर अर्बौँको क्षति भएको उनले बताएका छन् । यसले विदेशी तथा स्वदेशी लगानीकर्ताको मनोबल गिराउन सक्ने भन्दै उनले पीडादायी भए पनि व्यवसायीलाई निराश हुन नदिन सार्वजनिक रूपमा बोल्न बाध्य भएको स्पष्ट पारेका छन् ।
उनले विगतमा भूकम्प, नाकाबन्दी र कोरोना महामारीजस्ता ठूला संकट पार गरिसकेको स्मरण गर्दै अहिलेको कठिनाइलाई पनि नयाँ अवसरको रूपमा लिनुपर्नेमा जोड दिएका छन् । ढकालले भने, “आगोले इँटा र काठ जलाए पनि हाम्रो आत्मबल र साहस कहिल्यै जल्दैन । विश्वास गरौँ, भोलि सुनौलो विहानी आउने नै छ ।”
उनले नयाँ पुस्तालाई निजी क्षेत्र मुलुकको अर्थतन्त्रको इन्जिन भएको कुरा बुझाउनुपर्ने आवश्यकता औंल्याउँदै निजी क्षेत्रको योगदान ८१ प्रतिशतभन्दा बढी र रोजगारी सिर्जना ८६ प्रतिशतभन्दा बढी रहेको तथ्य प्रस्तुत गरे । उनका अनुसार निजी क्षेत्रबिना समृद्ध नेपाल सम्भव छैन, त्यसैले यसलाई कमजोर पार्ने सुविधा देशसँग छैन ।
ढकालले सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेख्दै आफ्नो अनुभव पनि सुनाएका छन् । उनले शून्य पुँजीबाट व्यवसाय सुरु गरी चार दशकको मेहनत, इमान्दारिता र निरन्तरताले हजारौँ नेपालीको रोजगारीसँग जोडिएको अवस्था आएको बताए । तर हालैका क्षतिका कारण मन भारी भए पनि फेरि उठ्न, निर्माण गर्न र भावी पुस्तालाई प्रेरणा दिन व्यवसायी अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।
नेपालपत्र संवाददाता