काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज साँझ ६ बजेसम्म बन्द रहने भएको छ। विमानस्थलका प्रवक्ता रिन्जी शर्पाका अनुसार पछिल्ला दिनमा उत्पन्न असामान्य वातावरणीय परिस्थितिका कारण आपत्कालिन रूपमा यस्तो निर्णय गरिएको हो। प्रवक्ता शर्पाले विमानस्थल बेलुकी ६ बजेसम्म बन्द रहने र यात्रु सुरक्षालाई प्राथमिकता दिँदै गरिएको निर्णय गरिएकाे उल्लेख गरे ।
यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार विज्ञप्ति जारी गर्दै विमानस्थल वरपर र उडान–अवतरण मार्गका विभिन्न स्थानमा बाक्लो धुँवा देखिएको जानकारी दिएको थियो। सो धुँवा, धुलो र वायुमण्डलीय धुँवाले भिजिबिलिटी निकै कम भएपछि उडान–अवतरणमा प्रत्यक्ष असर परेको छ। प्राधिकरणका अनुसार जहाजको सुरक्षा संवेदनशील अवस्थामा पुगेपछि अस्थायी रूपमा सबै उडान रोकिएको हो।
विमानस्थल बन्द भएपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। कतिपय उडानहरू अन्य नजिकैका विमानस्थलमा मोडिएका छन् भने केही उडान तालिका स्थगित गरिएका छन्। यात्रुहरूलाई एयरलाइन कम्पनीहरूले वैकल्पिक व्यवस्था र नयाँ तालिका सम्बन्धी जानकारी गराउने जनाइएको छ।
सामान्यतया मौसमी आगलागी, प्रदूषण वा वनजंगलमा लागेको डढेलोका कारण काठमाडौं उपत्यकामा धुँवा फैलने र दृश्यता प्रभावित हुने अवस्था देखिँदै आएको भए पनि यस पटक असामान्य घना धुँवा फैलिएकाले अन्तर्राष्ट्रिय स्तरमै चासो बढेको छ। प्राधिकरणले वातावरणीय निकायहरूसँग समन्वय गर्दै कारण पहिचान र समाधानका लागि पहल सुरु गरेको जनाएको छ।
विमानस्थल पुनः सञ्चालन बेलुका ६ बजेदेखि हुने भए पनि मौसम र वातावरणीय अवस्था सामान्य नहुन्जेलसम्म थप निर्णय हुन सक्ने अधिकारीहरूले बताएका छन्।
नेपालपत्र संवाददाता