काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीलाई तोकिएको ढाँचामा र समयमा वित्तीय विवरण तथा अन्य महत्वपूर्ण सूचना अनिवार्य रूपमा पेस गर्न निर्देशन दिएको छ । नेप्सेले आइतबार जारी गरेको सर्कुलरमार्फत लगानीकर्ताको हित र वित्तीय पारदर्शिता सुनिश्चित गर्ने उद्देश्यले यस्तो व्यवस्था गरेको हो ।
नेप्सेले तोकेको व्यवस्थाअनुसार आर्थिक वर्ष समाप्त भएको पाँच महिनाभित्र लेखा परीक्षणसहितको वार्षिक वित्तीय विवरण पेस गर्नुपर्नेछ । त्यस्तै, त्रैमास समाप्त भएको ३० दिनभित्र प्रतिसेयर आम्दानी (ईपीएस), मूल्य–आय अनुपात (पी/ई) लगायतका विवरणसहितको त्रैमासिक प्रतिवेदन बुझाउनुपर्नेछ ।
लाभांश वितरण, बोनस वा हकप्रद सेयर निष्कासन, ठूला लगानी तथा कानुनी कारबाही जस्ता सेयर मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने घटनाहरू तुरुन्तै नेप्से र कम्पनीको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ । यी सबै विवरण नेप्सेले उपलब्ध गराएको सेयर खरिदबिक्रीको अनलाइन प्रणाली (नट्स) मार्फत पठाउनुपर्ने सर्कुलरमा उल्लेख छ ।
त्यसैगरी, धितोपत्रको दाखिला खारेज हुने मितिभन्दा कम्तीमा सात दिनअघि सो सम्बन्धी सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था गरिएको छ । साधारण सभासम्बन्धी विवरणमा पनि नेप्सेले स्पष्ट प्रावधान तय गरेको छ । साधारण सभाको वार्षिक प्रतिवेदन, वासलात र अन्य आवश्यक जानकारी सभा हुनुभन्दा कम्तीमा २१ दिनअघि उपलब्ध गराउनुपर्नेछ भने साधारण सभामा भएका निर्णयको विवरण सभा समाप्त भएको एक महिनाभित्र नेप्सेलाई बुझाउनुपर्नेछ ।
नेपालपत्र संवाददाता