आइतबार, आश्विन १८ गते २०८३

१४ वर्षपछि व्यावसायिक उत्पादनमा १०२ मेगावाटकाे मध्य भोटेकोशी जलविद्युत्

भाद्र २२, २०८२ आइतबार
१४ वर्षपछि व्यावसायिक उत्पादनमा १०२ मेगावाटकाे मध्य भोटेकोशी जलविद्युत्

सिन्धुपाल्चोकस्थित १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना भदौ अन्तिम सातादेखि व्यावसायिक उत्पादनमा गर्ने तयारीमा छ। भदौ १६ देखि परीक्षण चरणमा रहेको आयोजनाले नेपाल विद्युत् प्राधिकरणको प्राविधिक निरीक्षण र स्वीकृति पाएपछि पूर्ण व्यावसायिक उत्पादन गर्ने भएको हो।

आयोजनाका कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीका अनुसार प्राधिकरणले निर्माण गरिरहेको बाह्रबिसे सबस्टेसन पूर्ण नभएकाले हालका लागि आयोजना नयाँ खिम्ती सबस्टेसनसँग ४० किलोमिटर लामो ट्रान्समिसन लाइनमार्फत जोडिएको छ। मध्य भोटेकोशीको २२० केभी पावर खिम्ती सबस्टेसनमा रहेको ४०० केभी प्रसारण प्रणालीमा मिसाइएर राष्ट्रिय ग्रिडमा पुग्ने व्यवस्था गरिएको छ।

हाल आयोजनाको तीनवटा टर्बाइनमध्ये एउटा मात्र सञ्चालन गरेर परीक्षण उत्पादन भइरहेको छ। व्यावसायिक उत्पादन सुरु भएपछि वार्षिक करिब ५४ करोड २० लाख युनिट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिनेछ। यसबाट करिब दुई अर्ब ७० करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान गरिएको छ।

मध्य भोटेकोशी १४ वर्षअघि सुरु भए पनि विभिन्न अवरोध, प्राकृतिक प्रकोप र प्राविधिक जटिलताले गर्दा समयमै सम्पन्न हुन सकेन। सुरुवाती लागत अनुमान १२ अर्ब ३३ करोड रुपैयाँ राखिएकोमा लामो समयसम्म निर्माण ढिलाइ हुँदा आयोजनाको लागत २२ अर्ब रुपैयाँसम्म पुगेको छ। अहिले आयोजनाले दैनिक झण्डै ५० लाख रुपैयाँ ऋणको ब्याज तिर्नुपर्ने बाध्यता छ, जसले वित्तीय दबाब थपेको छ। विद्युत् उत्पादन सुरु भएसँगै राजस्व आयाम खुले पनि लागत असामान्य रूपमा बढेकाले लगानीकर्ताले अपेक्षित प्रतिफल पाउन समय लाग्ने देखिन्छ।