काठमाडौं । महालक्ष्मी विकास बैंकले चाडपर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकलाई क्रेडिट कार्डमार्फत टुर तथा भ्रमण प्याकेज खरिद गर्न सकिने नयाँ योजना सुरु गरेको छ।
बैंकले यस योजनामार्फत ग्राहकले सहज, सुरक्षित र आधुनिक भुक्तानी सुविधा प्राप्त गर्ने जनाएको छ। चाडपर्वमा विभिन्न देश भ्रमण गर्ने नेपालीहरुको बढ्दो प्रचलनलाई मध्यनजर गर्दै यो सुविधा प्रारम्भ गरिएको बैंकले जनाएको छ।
यसका लागि बैंकले गुरु ट्राभल्स प्रा.लि., दरबारमार्ग र रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्स, उत्तरढोका, काठमाडौंसँग सहकार्य गरेको छ। प्रारम्भिक चरणमा यी ट्राभल एजेन्सीमार्फत महालक्ष्मी क्रेडिट कार्ड प्रयोग गरी विभिन्न टुर प्याकेज खरिद गर्न सकिनेछ।
ग्राहकले खरिद गरेको प्याकेजको मूल्य बराबरको रकम ६ देखि १२ महिना भित्र मासिक किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ। किस्तामा रुपान्तरण गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने बैंकले स्पष्ट पारेको छ।
हालै मात्र बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’ मा भर्चुअल क्रेडिट कार्ड सुविधा पनि थप गरेको छ। ‘सबल बैंक, सफल सहकार्य’ नारासहित सेवा विस्तार गर्दै आएको बैंकका १०३ शाखा र करिब ८ लाख ग्राहक रहेका छन्।
नेपालपत्र संवाददाता