काठमाडौं, नेपाल राष्ट्र बैंकले रु. ५० अर्ब बराबरको निक्षेप संकलन बोलकबोल आह्वान गरेको छ। बैंकले आज (भदौ १८) मध्यान्ह ३ बजेसम्म अनलाइनमार्फत बोलकबोल प्रक्रिया सञ्चालन गर्ने भएको हो।
बैंकका अनुसार निक्षेप संकलन उपकरण २५ दिन अवधिका लागि निष्कासन हुनेछन्। यसमा सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम रु. १० करोडदेखि बढीमा ५ करोडको गुणांकमा प्रस्ताव पेस गर्न सक्ने व्यवस्था गरिएको छ।
निक्षेपको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ। साँवा तथा ब्याज असोज १२ गते एकैपटक भुक्तानी गरिनेछ। साथै, राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था पनि गरिएको छ।
यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउने छन्।
नेपालपत्र संवाददाता