एम्बोस्ड कार्ड ......
अर्को इन्धन चाहिँदैन कि कसो इम्बोस्ड हालेपछि
नेपाली सब अङ्क अक्षरहरू खुर्केर फालेपछि
पन्साई पहिचान मौलिकपना स्वाधीनता यी सब
गर्छौ दान कि बेच्दछौ मुलुक नै पारेर टुक्रा अब।१।
यो एम्बोस्ड अचम्मको छ यसले खायो कसैको नुन
भाषा संस्कृति धर्म बेच्न यसले गर्दैछ विज्ञापन
आफ्ना मालिकका सुनेपछि सबै आदेश यो मान्दछ
भाषा होइन देश होइन ठुलो कुर्सी ठुलो ठान्दछ ।२।
यो एम्बोस्ड बनेर एम्बुस कतै पड्किन्छ जस्तो भयो
बोली नै रहँदैन भोलि कि कतै अड्किन्छ जस्तो भयो
मर्छन् मूल्य र मान्यता सँगसँगै मारिन्छ भाषा जब
बिस्तारै इतिहास मर्दछ सबै हुन्छन् खरानी तब ।३।
रैती दास गुलाम बन्नु छ भने भाषा उडाए भयो
राखी नम्बर प्लेट दैनिक त्यही गाडी गुडाए भयो
जे निर्देशन दिन्छ लौ गर भनी एम्बोस्डको नायक
सिध्याएपछि मात्र छाड्छ उसले पारेर नालायक।४।
इन्द्र नारायण सुवेदी