काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष जोहानेस जुटबीच नेपालमा आर्थिक सुधार, लगानी, शहरी पूर्वाधार र वातावरणीय विकासका विषयमा छलफल भएको छ।
अर्थ मन्त्रालयमा सोमबार भएको भेटमा अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सूचकहरूमा उल्लेखनीय सुधार भएको बताउँदै नीतिगत, संरचनागत र कार्यान्वयन प्रक्रियामा नेपालले प्रगति गरेको जानकारी दिए । विश्व बैंकले आगामी छ वर्षका लागि तयार पारेको कन्ट्री पार्टनरसीप फ्रेमवर्क नेपाल सरकारका प्राथमिकतासँग तादम्य रहेको उल्लेख गर्दै उनले सहकार्यमा अघि बढ्ने इच्छा व्यक्त गरे ।
यसक्रममा, अर्थमन्त्री पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा छलफलमा रहेको जानकारी गराउँदै विधेयक पारित भएपछि निजी क्षेत्रसँग मिलेर प्रतिफलमुखी आयोजना कार्यान्वयनमा लगानी गर्ने उल्लेख गरे ।
विश्व बैंक उपाध्यक्ष जुटले नेपालमा उच्च आर्थिक वृद्धिदर कायम गर्न सहयोग गर्ने आश्वासन दिँदै सहरी पूर्वाधार, वातावरणीय प्रदूषण न्यूनीकरण, लुम्बिनी र काठमाडौँ उपत्यकाको विकासलाई प्राथमिकतामा राखिने बताउनुभयो। उहाँले लगानी र उत्पादकत्व वृद्धिमा केन्द्रित भई निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुपर्ने धारणा राखे।
उपाध्यक्ष जुटले नेपालको आर्थिक सूचकहरूमा देखिएको सुधार सकारात्मक रहेको भन्दै वैकल्पिक वित्त परिचालन सम्बन्धी कानुन बनेसँगै पूर्वाधार क्षेत्रमा लगानीका नयाँ अवसर सिर्जना हुने अपेक्षा गरे ।
नेपालपत्र संवाददाता