काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) सम्बन्धी कानुनको कडाइका साथ पालना गर्न आम नागरिकलाई आह्वान गरेको छ। बैंकले जारी गरेको सूचनामा सम्पत्ति शुद्धीकरण भन्नाले कसैले प्राप्त गरेको सम्पत्ति गैरकानुनी गतिविधिबाट आर्जन गरिएको वा त्यसको स्रोत स्पष्ट नभएको सम्पत्तिलाई लुकाउने, रूपान्तरण गर्ने वा प्रयोग गर्ने कार्यलाई जनाइन्छ।
बैंकले यस प्रकारका गतिविधि कानुनविपरीत भएको उल्लेख गर्दै यस्तो कार्यमा संलग्न हुने व्यक्तिलाई कानुनी कारबाही भोग्नुपर्ने चेतावनी दिएको छ। सूचनामा गैरकानुनी सम्पत्तिको वास्तविक स्रोत, स्थान वा प्रकृति लुकाउने, सो सम्पत्तिलाई कारोबार वा स्वामित्व परिवर्तन गर्ने, प्रयोग गर्ने वा हस्तान्तरण गर्ने कार्यलाई सम्पत्ति शुद्धीकरण मानिने उल्लेख छ।
त्यसैगरी, गैरकानुनी सम्पत्तिबाट उत्पन्न हुने गतिविधिमा संलग्न, प्रोत्साहन गर्ने वा सहकार्य जनाउनेलाई समेत कानुनी कारबाहीको दायरामा ल्याइने नेपाल राष्ट्र बैंकले जनाएको छ। बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनको पालना गर्न आग्रह गर्दै यसप्रकारका कार्यबाट बच्न र आर्थिक प्रणालीलाई सुरक्षित बनाउन सबैलाई सचेत गराएको छ।
नेपालपत्र संवाददाता