सन् २०२५ को अगस्ट महिनामा नेपालमा ८८ हजार ६८० विदेशी पर्यटक आगमन गरेका छन्। नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा करिब २२ प्रतिशतले बढी हो।
आगमन हेर्दा, भारतबाट मात्र ३५ हजार ५०५ (४०%) पर्यटक आएका छन्। त्यसपछि चीनबाट ७ हजार ५३३ (८.५%), अमेरिकाबाट ६ हजार ६८ (६.८%), श्रीलंकाबाट ५ हजार ९५६ (६.७%), र बंगलादेशबाट ४ हजार २६२ (४.८%) पर्यटक भित्रिएका छन्।
सन् २०२५ को जनवरीदेखि अगस्टसम्मको आठ महिनामा जम्मा ७ लाख ३६ हजार ५६२ पर्यटक नेपाल आएका छन्।
क्षेत्रगत हिसाबले हेर्दा, दक्षिण एसियाली मुलुक (सार्क)बाट ५३% अर्थात ४७ हजार १३७ पर्यटक आएका छन्। त्यस्तै, एसियाका अन्य मुलुकबाट १७.८% (१५ हजार ७७७), युरोपबाट १२.६% (११ हजार १३२), अमेरिकाबाट ८.२% (७ हजार २९३), ओसनियाबाट २.७% (२ हजार ४३५), मध्यपूर्वबाट १.१% (९४४), अफ्रिकाबाट ०.४% (३२२) र अन्य मुलुकबाट ४.१% (३ हजार ६४०) आगमन भएको छ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीका अनुसार, कोरोना महामारीपछिको सुस्त अवस्थाबाट नेपाल पर्यटन क्रमशः पुनरुत्थानतर्फ अघि बढिरहेको छ। विशेषगरी भारतबाट एयर इन्डिया एक्सप्रेसको थप उडानले भारतीय पर्यटक संख्यामा उल्लेखनीय वृद्धि गरेको बताउँदै उनले भने, “आगामी महिनाहरूमा पर्यटक आगमन निरन्तर बढ्नेमा हामी आशावादी छौं।”
नेपालपत्र संवाददाता