शुक्रबार, कार्तिक ७ गते २०८३

भदौ १५ : आज राष्ट्रिय पुस्तकालय दिवस र यसको रोचक कारण


भाद्र १५, २०८२ आइतबार
भदौ १५ : आज राष्ट्रिय पुस्तकालय दिवस र यसको रोचक कारण
पुस्तकस्था तु या विद्या, परहस्तगतं च धनम्।
कार्यकाले समुत्तपन्ने न सा विद्या न तद् धनम्।।
 
लिच्छवि कालमा पनि 'सफू छें' (पुस्तक घर) बारे इतिहासको उल्लेख भेटिन्छ। नाबालक राजा गिर्वाण युद्ध बिक्रम शाहको समयमा उनकी नायब ललितत्रिपुरसुन्दरीले वि. स. १८६९ भाद्र १५ गते ' पुस्तक चिताई तहबिल ' (चिताई तहबिल भनेको रेखदेख ढुकुटी) मा लालमोहर लगाई पं केदारनाथ झा लाई बार्षिक १२ रू तलब दिई पुस्तकालय रेखदेख गर्ने काम दिईएको पाईन्छ । पुस्तक चिताई तहबिल हनुमानढोकामा स्थापित थियो ।
 
हनुमानढोकाकाका तिनै पुस्तक, पाण्डुलिपी, ठ्यासफू, वंशावली, भोजपत्र, ताडपत्र, पुष्पिका वाक्य, ऐतिहासिक चिठीपत्र, सन्धिपत्र आदिलाई पहिलो राणा प्रधानमन्त्री जङ्गबहादुरले वि.स. १९०४ मा आफ्नो निवास, थापाथली दरबारको जैसीकोठामा सारे भने वीर शमशेरले वि.स. १९५३ मा दरबार हाईस्कूलमा सारेपछि दरबार लाईब्रेरी भन्न थालियो। त्यसको ४ वर्षपछि वीर शमशेरले नै घन्टाघरमुनि राखे ।
 
देव शमशेरले वि.स. १९५८ मा सर्वसाधारणको लागि खुल्ला गरिदिए। तिनै सामग्री राखेर २०२४ सालमा राष्ट्रिय अभिलेखालय स्थापना भयो। रामशाहपथमा भारतले अभिलेखालय को भवन बनाईदिएपछि नेपालको पहिलो पुस्तकालय, अभिलेखालयको रुपमा रामशाहपथमा अवस्थित छ ।
 
आफूलाई ठाउँ साँघुरो भयो भन्दै सर्वोच्च अदालतले अभिलेखालयलाई नारायणहिटी दरबार परिसरमा सारेर त्यो ठाउँ आफूले लिन किचकिच गरिरहेको छ। तर ज्यादै पुराना अभिलेख जथाभावी रुपमा सार्न थाल्दा ध्वस्त हुने वास्तविकतालाई भने बुझ पचाउँने गर्छ ।
 
नेपालका पुराना पुस्तकालयहरू केशर पुस्तकालय, नेपाल राष्ट्रीय पुस्तकालय, त्रि वि पुस्तकालयहरू प्राध्यापक र बिद्यार्थीहरूको स्वागत गर्न नपाएर तड्पिरहेका छन् । हरिहर भवनमा रहेको नेपाल राष्ट्रिय पुस्तकालय अब जमलमा बन्न लागेको छ ।
 
--------------
इतिहासकार (अन्वेषक) दिनेशराज पन्तको भनाईका अतिरिक्त, सरीता हुमांगाई, पुस्तकालय बिज्ञान केन्द्रीय बिभागको लेख, राजकुमार बानियाँ को लेख 'सोखिन संकलक', कान्तिपुर 'कोशेली' : शनिबार, १८/१०/०७६ र आफ्नै नोटको आधारमा ।