काठमाडौं, नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार एक तोला सुनको मूल्य रु. २ लाख ६०० पुगेको छ। यो मूल्य बिहीबारको तुलनामा तोलामा रु. १,२०० ले बढेको हो।
यस्तै, चाँदीको मूल्य पनि तोलामा रु. ५ ले वृद्धि भई आज रु. २ हजार ३६० मा कारोबार भइरहेको छ। बिहीबार चाँदी तोलामा रु. २ हजार ३५५ मा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च विन्दुमा पुगेको छ। आज प्रतिऔँस सुन ३,४०८ अमेरिकी डलर मा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यससको प्रत्यक्ष असर नेपाली बजारमा परेको हो।
पछिल्लाे केहि समययता खासगरी अमेरिकी अर्थतन्त्रको सुस्त वृद्धि, ब्याजदर सम्बन्धी अनिश्चितता र भू-राजनीतिक तनावले लगानीकर्ता सुरक्षित विकल्पका रूपमा सुनतर्फ आकर्षित भएका छन्। अमेरिकी डलर कमजोर हुँदा सुनमा माग बढ्ने प्रवृत्ति रहेकाे, जसले मूल्य उकासेको देखिन्छ। विश्लेषकहरूका अनुसार सुनमा लगानीकर्ता विश्वास बढेकाले मूल्य अझै केही समय उक्लिने सम्भावना देखिएको छ।
नेपालपत्र संवाददाता