बुधबार, भाद्र ३ गते २०८३

पोखरामा ‘इमोबिलिटी’ परियोजनाका लागि एडिबीले ४० मिलियन डलर दिने

भाद्र १३, २०८२ शुक्रबार
पोखरामा ‘इमोबिलिटी’ परियोजनाका लागि एडिबीले ४० मिलियन डलर दिने

 

पर्यटकीय राजधानी पोखराको सार्वजनिक यातायात सुधारका लागि विद्युतीय सवारी साधनमा आधारित ‘इमोबिलिटी परियोजना’ सञ्चालन हुने भएको छ। एशियाली विकास बैंक र ग्रिन क्लाइमेट फन्डको साझेदारीमा करिब १०० मिलियन अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियत ऋण उपलब्ध हुने भएको हो। यसमध्ये करिब ४० मिलियन डलर बराबरको लगानी पोखरामा हुने पोखरा महानगर प्रमुख धनराज आचार्यले जानकारी दिएका हुन्।

महानगर प्रमुख आचार्यका अनुसार परियोजना सञ्चालनका लागि आवश्यक समन्वय र व्यवस्थापन पोखरा महानगरपालिकाले गर्नेछ। यस परियोजनाले सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने मात्र नभई वातावरण संरक्षण र स्वच्छ ऊर्जामा आधारित सहरी विकासमा योगदान गर्ने अपेक्षा गरिएको छ।

यस विषयमा गण्डकी प्रदेश सरकार, नीति तथा योजना आयोग, विकास साझेदार तथा यातायात व्यवसायीको सहभागितामा कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा चार्जिङ स्टेसन निर्माण, डिजिटल सूचना प्रणाली, व्यवस्थित बसस्टप निर्माण लगायतका पूर्वाधार विकासमा जोड दिइएको थियो। साथै, सार्वजनिक यातायात प्राधिकरण गठनका लागि कानुनी संरचना निर्माण गर्ने तयारी भएको प्रदेश योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले बताए । 

एडिबीका वरिष्ठ सार्वजनिक व्यवस्थापन विशेषज्ञ अरुण रामामूर्ति नेतृत्वको टोलीले समेत पोखरामा इमोबिलिटी परियोजना सञ्चालनबारे छलफल गरेको छ।

नगर प्रमुख आचार्यले यातायात व्यवसायीलाई सेवाको गुणस्तर सुधार गर्न आह्वान गर्दै परियोजनाले जनस्वास्थ्य र वातावरण दुवैमा लाभ पुर्‍याउने विश्वास व्यक्त गरे । पोखरा पर्यटन राजधानी भएकाले यो परियोजनाले शहरलाई हरित, आधुनिक र पर्यटकमैत्री सहरी यातायात प्रणालीतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।