आइतबार, आश्विन १८ गते २०८३

पोखराबाट अष्ट्रेलिया उडान हुने


भाद्र १२, २०८२ बिहीबार
पोखराबाट अष्ट्रेलिया उडान हुने

 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने तयारी गर्दै नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको हो। कम्पनीले आगामी सेप्टेम्बरदेखि उडान सुरु गर्ने योजना बनाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो। यसअघि सिचुवानले पोखरामा चार्टर उडान गरिसकेको थियो।

यस्तै, भूटान एयरलाइन्सले पनि पोखराबाट पारो इन्टरनेसनल एयरपोर्टका लागि सेप्टेम्बर २८ र अक्टोबरमा चार दिन चार्टर उडान गर्न अनुमति मागेको छ। सुरुमा काठमाडौँ–पारो उडान गर्ने भूटान एयरलाइन्सले दीर्घकालमा पारो–पोखरा–दिल्ली उडान गर्ने योजना समेत राखेको छ।

हाल पोखरा विमानस्थलमा हप्तामा एक दिन मात्र हिमालय एयरलाइन्सले नियमित उडान गरिरहेको छ। तर सिचुवान र भूटान एयरलाइन्स थपिएसँगै विमानस्थल सक्रिय हुने र यात्रुका लागि सहज हुने अपेक्षा गरिएको छ।

त्यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा पनि विदेशी वायुसेवाको चहलपहल बढ्दैछ। लामो समयदेखि स्थगित उडानलाई जजिरा एयरवेज र थाई एयर एसियाले अक्टोबरदेखि पुनः सुरु गर्ने भएका छन्। दुबै वायुसेवाले हप्तामा दुई–दुई उडान गर्ने योजना बनाएका छन्।

सरकारले पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्न विभिन्न शुल्क छुटको व्यवस्था गरेको छ। यात्रु सेवा शुल्क, पार्किङ, ल्याण्डिङ र नेभिगेसन शुल्कमा पूर्ण छुट दिइएको छ भने नेपाल एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुटको सुविधा प्रदान गरिएको छ।