गत आर्थिक वर्ष २०८१।८२ मा विदेशिने नेपाली कामदारको संख्यासँगै मुलुकमा उल्लेख्य विप्रेषण भित्रिएको छ । गत आर्थिक वर्ष भरिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई रु.१७ खर्ब २३ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो ।
२०८२ असार महिनाको मात्र विप्रेषण आप्रवाह रु. १ खर्ब ८९ अर्ब ११ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह रु.११७ अर्ब ७८ करोड रहेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो ।
गत आ.व. मा खुद ट्रान्सफर रु.१८ खर्ब ७४ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय रु.१५ खर्ब ७१ अर्ब २४ करोड रहेको थियो । सो आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङख्या ५ लाख ५ हजार ९५७ र पुनः श्रम स्वीकृति लिनेको सङख्या ३ लाख ३३ हजार ३०९ रहेको छ । अघिल्लो वर्ष भने यस्तो सङख्या क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार १९५ रहेको थियो ।
नेपालपत्र संवाददाता