आर्थिक वर्ष २०८१/८२ मा नेपालको समग्र अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा सुधारतर्फ उन्मुख देखिएको छ। नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्ष २०८१८२ को आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार साे अवधिमा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको ३.६७ प्रतिशतभन्दा बढी हो। मुद्रास्फीति पनि घट्दै ४.०६ प्रतिशतमा सीमित भएको छ, जसले उपभोक्तालाई केही राहत दिएको संकेत गर्दछ। शोधनान्तर स्थिति रु. ५९४ अर्ब ५४ करोडले बचतमा रहँदा अघिल्लो वर्षको तुलनामा थप मजबुत बनेको छ।
बाह्य क्षेत्रतर्फ आयात र निर्यात दुवैमा उल्लेखनीय सुधार भएको छ। चालु वर्ष आयात १३.३ प्रतिशतले बढेको छ भने निर्यात ८१.८ प्रतिशतले वृद्धि भएको छ, जब कि अघिल्लो वर्ष दुवै घटेका थिए। विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.२ प्रतिशतले बढेको छ भने अमेरिकी डलरमा १६.३ प्रतिशतले वृद्धि भएको छ। २०८२ असार महिनामा मात्रै विप्रेषण रु. १८९ अर्ब ११ करोड पुगेको छ। यससँगै, कुल विदेशी विनिमय सञ्चिति १९ अर्ब ५० करोड अमेरिकी डलरमा पुगेको छ, जसले १५.४ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता देखाएको छ।
मौद्रिक तथा वित्तीय क्षेत्रमा पनि सकारात्मक संकेत देखिन्छ। विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशतले बढेको छ भने बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन १२.६ प्रतिशतले वृद्धि भई रु. ७२ खर्ब ६४ अर्ब पुगेको छ। निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशतले बढ्दै रु. ५४ खर्ब ९८ अर्ब पुगेको छ। समग्रमा हेर्दा, आयातमा निर्भरता बढ्दै गएकाे चुनौती रहे पनि निर्यात, विप्रेषण, निक्षेप र विदेशी सञ्चिति सबल बनेकाले २०८१/८२ को अर्थतन्त्र अघिल्लो वर्षभन्दा तुलनात्मक रूपमा सुदृढ देखिएको छ।
नेपालपत्र संवाददाता