काठमाडौं । भृकुटीमण्डपमा मंगलबारदेखि जारी नाडा अटो शो–२०२५ मा वाणिज्य बैंकहरूले सस्तो ब्याजदरमा अटो कर्जा उपलब्ध गराउने योजना सार्वजनिक गरेका छन् । बैंकिङ प्रणालीमा ६ खर्ब ५० अर्बभन्दा बढी अधिक तरलता भएपछि अटो कर्जामा समेत प्रतिस्पर्धा बढेको हो ।
२० वाणिज्य बैंकमध्ये ७ बैंकले न्यूनतम ६.२३ प्रतिशतदेखि अधिकतम ८.२५ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने घोषणा गरेका छन् । शोमा आधा दर्जन बैंकहरूले स्टलसमेत राखेका छन् ।
सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकले ६.२३ प्रतिशतमा घोषणा गरेको छ भने नबिल बैंकले ६.७४ प्रतिशतदेखि ८.२५ प्रतिशत, लक्ष्मी सन्राइजले ७.९९ प्रतिशत, ग्लोबल आइएमईले ६.९९–८.२५ प्रतिशत, एनएमबिले विद्युतीय गाडीका लागि ७.१३ प्रतिशत, हिमालयन बैंकले ७.५७ प्रतिशत र सानिमा बैंकले ७.९९–८.१५ प्रतिशत ब्याजदरमा अटो कर्जा उपलब्ध गराउने भएका छन् ।
केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत अटो कर्जामा केही लचकता अपनाएपछि बैंकहरूले कर्जा मूल्यको ६० प्रतिशतसम्म ऋण उपलब्ध गराउन सक्ने व्यवस्था छ । अधिक तरलताको दबाबबीच बैंकहरूले ब्याजदर घटाएर ग्राहक आकर्षित गर्न खोजेपछि गाडी बिक्री बढ्ने व्यवसायीहरूको विश्वास छ ।