भदौ महिनाबाट वाणिज्य बैंकहरूको निक्षेप ब्याजदर फेरि तल झरेको छ । साउनमा व्यक्तिगत मुद्दती निक्षेपमा औसत अधिकतम ५.६९ प्रतिशत ब्याज प्रस्ताव गरेका बैंकहरूले भदौमा त्यो दर ५.५७ प्रतिशतमा झारेका छन् । संस्थागत मुद्दती निक्षेपमा पनि ४.११ प्रतिशतबाट घटेर ३.९६ प्रतिशत पुगेको छ।
२० वटा वाणिज्य बैंकमध्ये आठ बैंकले यस पटक ब्याजदर घटाएका छन् भने एक बैंकले बढाएको छ । बाँकी बैंकहरूले साउनकै दरलाई निरन्तरता दिएका छन् । घटाउनेतर्फ स्ट्यान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, एभरेस्ट, सानिमा, कुमारी, सिद्धार्थ, कृषि विकास र नेपाल एसबिआई बैंक छन् । प्रभु बैंक भने एक मात्र बैंक हो जसले भदौमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढाएको छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले साउनमा दिएको ६.२६ प्रतिशत ब्याजदर घटाएर भदौमा ५.१३ प्रतिशत मात्र दिने भएको छ—यो बैंकबीचको सबैभन्दा ठूलो कटौती हो । यसको विपरीत प्रभु बैंकले भने ५.३५ प्रतिशतसम्म ब्याजदर पुर्याएको छ, जसले उसलाई साउनको तुलनामा बढी प्रतिस्पर्धी बनाएको छ।
भदौमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर दिने बैंक भने एनआइसी एशिया भएको छ । बैंकले अधिकतम ६.२५ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ, जुन साउनकै दरलाई निरन्तरता हो । कम ब्याज दिनेमा लक्ष्मी सनराइज अगाडि छ, जसले अधिकतम ५ प्रतिशत मात्र दिने जनाएको छ।
नेपालपत्र संवाददाता