राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४९.५३ प्रतिशत बढी हो। बैंकको खुद ब्याज आम्दानी ०.५२ प्रतिशत वृद्धि भई १० अर्ब ८ करोड रुपैयाँ पुगेको छ भने शुल्क तथा कमिसन आम्दानी ७२.८८ प्रतिशत बढेर १ अर्ब २५ करोड रुपैयाँ भएको छ। सञ्चालन नाफा ३१.५७ प्रतिशत बढ्दै ५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। गत वर्ष बैंकको वितरणयोग्य नाफा ३० करोड ३५ लाख रुपैयाँ रहँदा अघिल्लो वर्ष यो ऋणात्मक अवस्थामा थियो।
बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ र जगेडा ३७ अर्ब ४७ करोड रुपैयाँ छ। निक्षेप १६.५९ प्रतिशत बढेर ५ खर्ब ४१ करोड रुपैयाँ पुगेको छ भने कर्जा १९.७८ प्रतिशत बढेर २ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ। सीडी रेसियो ६२.३९ प्रतिशत, प्रतिसेयर आम्दानी २४.४१ रुपैयाँ, खराब कर्जा ३.५९ प्रतिशत, रिटर्न अन इक्विटी ७.६० प्रतिशत तथा आधार दर ४.७८ प्रतिशत रहेको छ।