आइतबार, आश्विन १८ गते २०८३

प्रधानमन्त्री ओलीले संसदमा भनेः स्थिर समीकरण र विकास सरकारको उपलब्धी


श्रावण २८, २०८२ बुधबार
प्रधानमन्त्री ओलीले संसदमा भनेः स्थिर समीकरण र विकास सरकारको उपलब्धी

 

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संघीय संसद्को प्रतिनिधिसभामा सम्बोधन गर्दै हालै सम्पन्न तुर्कमेनिस्तानको अवाजा शहरमा भएको भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्र संघीय सम्मेलनमा आफ्नो सहभागिता उपलब्धिमूलक रहेको बताए। उनले सम्मेलनमा नेपालले भूपरिवेष्टित मुलुकका चुनौतीहरू—पूर्वाधार अभाव, उच्च पारवहन लागत, जलवायु संकट—बारे स्पष्ट आवाज उठाएको र अन्तर्राष्ट्रिय सहकार्य तथा लगानीका लागि आह्वान गरेको उल्लेख गरे । ओलीले भ्रमणका क्रममा तुर्कमेनिस्तान, किर्गिज्स्तान, संयुक्त राष्ट्र महासचिव लगायत उच्चस्तरीय व्यक्तिसँग द्विपक्षीय भेटघाट भएको र नेपाल–संयुक्त राष्ट्र सम्बन्ध थप सुदृढ भएको बताए ।

समसामयिक विषयमा बोल्दै उनले सहकारी ठगी प्रकरणमा सरकारले कुनै प्रतिशोध नगरेको, संसद् अनावश्यक विवाद र ‘कन्टेन्ट उत्पादनको थलो’ नबनाउन आग्रह गरे। विपक्षी दलहरूले फैलाइरहेको अस्थिरताको हल्ला असान्दर्भिक रहेको भन्दै उनले २०८४ सालको चुनावसम्म वर्तमान राजनीतिक समीकरण यथावत् रहने स्पष्ट गरे ।

हुम्ला सडक सञ्जालमा जोडिनु, दैलेखमा ग्यास र नवलपरासीमा फलाम खानी फेला पर्नु, कीर्तिपुर क्रिकेट रंगशालामा प्यारापिट र फ्लडलाइट निर्माण अन्तिम चरणमा पुग्नु, सडक तथा पुल निर्माणमा उल्लेख्य वृद्धि, काठमाडौँ–तराई द्रुतमार्ग र सुरुङमार्ग निर्माणको प्रगति, डिजिटल सेवा विस्तार, विद्युत निर्यात, पेट्रोलियम पाइपलाइन निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, ४१५ आधारभूत अस्पताल निर्माणको काम अगाडि बढ्नु, १६ लाख किशोरीलाई एचपीभी खोप सेवा सुरु हुनु लगायतका विषय सरकारका हालैका उपलब्धिहरू रहेको बताए । 

प्रधानमन्त्री ओलीले आर्थिक वृद्धिदर ४.६% पुगेको, राजस्व, विप्रेषण र वस्तु निर्यातमा ऐतिहासिक वृद्धि भएको दाबी गरे । उनले लोकतन्त्र जोगाउन सबैलाई जिम्मेवार बन्न आह्वान गर्दै सरकारको काम ‘आधा खाली होइन, आधा भरी’ भएको निष्कर्ष दिए ।