काठमाडौं — ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) पूर्वी भेगीय क्षेत्र कोटेश्वरले १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
शनिबार पाँचतारा साकोसको सभाहल, पुरानो सिनामंगलमा भएको सभाको अध्यक्षता अध्यक्ष रवि रिमालले गरे भने प्रमुख अतिथि संस्थापक अध्यक्ष तथा ब्लोदान केन्द्रका वरिष्ठ सल्लाहकार लोकनारायण सुवेदी रहेका थिए। विशेष अतिथिमा ब्लोदान केन्द्रका उपाध्यक्ष उज्वल केसी, निवर्तमान अध्यक्ष ई सानुबाबु प्रजापती, विभिन्न सदस्य तथा काठमाडौं र ललितपुर शाखाका पदाधिकारी सहभागी थिए।
कार्यक्रम उद्घाटन प्रमुख र विशेष अतिथिले संयुक्त रूपमा पानसमा बत्ती बालेर गरेका थिए। स्वागत मन्तव्य उपाध्यक्ष माधवकुमार खड्काले दिए। उनले केन्द्रिय विधान संशोधन नगरी कुनै पनि क्षेत्र वा नगर समितीको वैधानिकता नरहेको बताउँदै, यस क्षेत्रले पेश गरेको संशोधित विधान अनुमोदन गर्नुपर्नेमा जोड दिए।

सभामा निवर्तमान अध्यक्ष प्रजापतीले विधान र कार्यक्षेत्र समय अनुसार विस्तार गर्न सुझाव दिए भने उपाध्यक्ष केसीले २०७७ सालमै संशोधन प्रक्रिया पूरा भए पनि स्वीकृति नहुँदा ढिलाइ भएको र अबका साधारण सभाबाट अवरोध हटाउने प्रतिबद्धता जनाए। प्रमुख अतिथि सुवेदीले ब्लोदानको उद्देश्य पवित्र भएकाले सबैलाई हातेमालो गर्दै मानविय कार्यमा लाग्न आग्रह गरे।
सभाबाट सचिव संगीता शर्माले कार्यप्रगति तथा संगठनात्मक प्रतिवेदन, कोषाध्यक्ष रामहरी फुयालले आय–व्यय विवरण र अध्यक्ष रिमालले आगामी कार्ययोजना प्रस्तुत गरे। जनचेतनामूलक कार्यक्रमका लागि आवश्यक बजेटसहितको खाका पारित गरियो। साथै, अध्यक्ष रिमालको संयोजकत्वमा उपाध्यक्ष खड्का र सचिव शर्मा सहितको तीन सदस्यीय विधान मस्यौदा समितिले तयार पारेको संशोधित विधान पारित गरी केन्द्रिय उपाध्यक्ष केसी र काठमाडौं शाखाका अध्यक्ष अधिकारीलाई हस्तान्तरण गरिएको थियो।

नेपालपत्र संवाददाता