आइतबार, आश्विन १८ गते २०८३

सुनको प्रतिताेला २ लाख नजिक, विश्व बजारमा किन बढिरहेकाे भाउ?


श्रावण २३, २०८२ शुक्रबार
सुनको प्रतिताेला २ लाख नजिक, विश्व बजारमा किन बढिरहेकाे भाउ?

काठमाडौं, नेपाली बजारमा केहिदिन यता सुनको भाउ उकालो लागिरहेको छ। शुक्रबार नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्दै १ लाख ९९ हजार ४ सय रुपैयाँमा पुगेको छ। यसले सुनको भाउ २ लाख नजिक पुर्‍याएको हो।

यसैगरी, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसकारण बढ्दैछ सुनको भाउ

विश्लेषकहरूका अनुसार, पछिल्लो समय विश्व बजारमा सुनको माग बढेको छ भने आपूर्ति स्थिर वा केही हदसम्म घटेको देखिन्छ। यसका साथै निम्न कारणले सुनको मूल्यमा लगातार वृद्धि भइरहेको छः

  • अमेरिकी डलर कमजोर बन्दै जाँदा लगानीकर्ताले सुरक्षित विकल्पको रूपमा सुन रोजिरहेका छन्।
  • चीनको कमजोर आर्थिक संकेत र युरोपेली अर्थतन्त्रमा मन्दीको सम्भावनाले पनि सुनमा आकर्षण बढाएको छ।
  • विश्वभर बढ्दो भू–राजनीतिक तनाव, विशेषतः मध्यपूर्व र युक्रेन–रुस युद्धले लगानीकर्तालाई जोखिममुक्त सम्पत्तिमा लगानी गर्न प्रेरित गरिरहेको छ।
  • केन्द्रीय बैंकहरूले समेत सुनको भण्डार बढाइरहेका छन्, जसले बजारमा मागलाई थप उचाइमा पुर्‍याएको छ।

नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा आधारित रहन्छ, तर भन्सार शुल्क, विदेशी विनिमय दर र आन्तरिक मागजस्तै स्थानीय कारणहरूले पनि मूल्य निर्धारणमा असर पार्छ। पछिल्लो समय नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा केही कमजोर भएकाले पनि सुन महँगिएको हो। 

विश्व बजारमा अनिश्चितता यथावत् रह्यो भने सुनको मूल्य अझै केही बढ्ने प्रक्षेपण विश्लेषकहरुको छ। यसले नेपाली बजारमा सुन खरिद गर्न चाहने सर्वसाधारणलाई प्रत्यक्ष असर पुर्‍याउनेछ।