काठमाडौं, वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमध्ये एक दक्षिण कोरियाले सन् २०२५ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत ५ हजार ३ सय नेपाली श्रमिकको माग गरेको छ।
दक्षिण कोरियाको श्रम संसाधन विभागले उत्पादनमूलक उद्योग र कृषि तथा पशुपालन क्षेत्रमा कार्य गर्नका लागि यो कोटा तोकेको हो। नेपालस्थित वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाका अनुसार साना तथा मझौला उद्योगमा विदेशी श्रमिकको अभाव देखिएकोले यस्तो माग आएको हो। जसमध्ये उत्पादनमूलक क्षेत्रमा ३ हजार ५०० जना र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८०० जनाको कोटा रहेको छ ।
यसरी निर्धारण गरिएको कुल ५,३०० कोटामा इच्छुक नेपालीले साउन २६ देखि ३१ गतेसम्म आवेदन दिन सक्ने इपिएस शाखाले जनाएको छ। इपिएस शाखाका अनुसार कोरियाली रोजगारदाताबाट आउने वास्तविक मागअनुसार सो कोटा थपघट हुने सम्भावना पनि रहेको छ। हरेक वर्ष कोरियाली पक्षले श्रमिक छनोटका लागि परीक्षा सञ्चालन गर्छ, जसमा पास भएका आवेदकहरू मात्रै कोरियामा रोजगारीका लागि जान पाउनेछन्।
दक्षिण कोरियामा वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारले तुलनात्मक रूपमा राम्रो तलब, सुरक्षित कार्य वातावरण र सामाजिक सुरक्षाको पहुँच पाउने भएकाले पछिल्ला वर्षहरूमा कोरिया लोकप्रिय गन्तव्यको रूपमा स्थापित हुँदै आएको छ।
इपीएस प्रणाली अन्तरगत दक्षिण कोरियाले श्रम सम्झौतामार्फत विकासशील देशका नागरिकहरूलाई निश्चित प्रक्रिया र परीक्षणपछि कामदारका रूपमा भित्र्याउने व्यवस्था मिलाएको हो। नेपाल सन् २००८ देखि यो प्रणालीमा सहभागी हुँदै आएको छ।
नेपालपत्र संवाददाता