आइतबार, आश्विन १८ गते २०८३

तरलता व्यवस्थापन गर्न ४० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक


श्रावण २१, २०८२ बुधबार
तरलता व्यवस्थापन गर्न ४० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बोलकबोल प्रणालीमार्फत ४० अर्ब रुपैया बराबरको निक्षेप संकलन गर्ने भएको छ। एक सूचना प्रकाशित गर्दै बैंकले ३५ दिन अवधिको निक्षेप संकलन उपकरण निष्काशनमार्फत बोलकबोल आव्हान गरेको हो । 

वित्तीय प्रणालीमा अधिक तरलता भएका बेला विभिन्न वित्तीय उपकरण प्रयोग गरी नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्ने गदै आएको छ । नेपाल राष्ट्र बैंकमा दर्ता रहेका क, ख र ग वर्गका वित्तीय संस्थाले बोलकबोलमा सहभागी हुन पाउँछन् । न्यूनतम रकम रु. १० करोड तोकिएको छ भने अधिकतम सीमा कुल आव्हान रकमभित्र ५ करोडको गुणनफलमा भाग जाने गरी निर्धारण गरिएको छ।

बोलकबोलको समय साउन २१ गते मध्यान्ह ३ः०० बजेसम्म तोकिएको छ भने सोही दिन निक्षेप संकलन उपकरणको निष्काशन हुनेछ। ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोल प्रणालीबाट निर्धारण गरिनेछ।

उक्त रकमकाे साँवा तथा ब्याजको भुक्तानी भदौ २५ गते हुनेछ। निक्षेप उपकरणलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था रहेको छ।