आइतबार, आश्विन १८ गते २०८३

१० अर्बको आन्तरिक ऋण उठाउँदै सरकार, एघार बर्षको लागि लगानी गर्नुपर्ने


श्रावण २१, २०८२ बुधबार
१० अर्बको आन्तरिक ऋण उठाउँदै सरकार, एघार बर्षको लागि लगानी गर्नुपर्ने

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले ११ वर्षे अवधिको विकास ऋणपत्र २०९३ जारी गर्ने जनाएको हो ।

कार्यालयका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ । उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था गैर– बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा अन्य नागरिकले खरिद गर्न सक्नेछन् । ऋणपत्रका लागि खरिदकर्ताले साउन २१ गते बुधबार ३ बजे बोलकबोल पेश गर्नुपर्नेछ ।

बिहिबार निष्कासन गर्न लागेको उक्त ऋणपत्रको साँवा र ब्याज भुक्तानी २०९३ साउन २२ गते हुनेछ । उक्त ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने कार्यालयले जनाएको छ ।

ईच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुनसक्ने कार्यालयले जनाएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ अर्ब र १५ प्रतिशत अर्थात ८५० करोड र १५० करोड रुपैयाँ छुट्याइएको छ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने छ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिनेरकमसम्ममा कायम भएको ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराईने जनाएको छ ।

उक्त ऋणपत्र खरिदको सिमा लागि न्युनतम पचास हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा रहेको छ । यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन नपाउने कार्यालयले जनाएको छ ।