आइएमई ग्रुपको अगुवाइमा कालीगण्डकी नदीमा पहिलोपटक जलविद्युत् आयोजना मध्य कालीगण्डकी को निर्माण सुरु गरिएको छ। ६६.३ मेगावाट क्षमताको यो आयोजना हाइड्रो सपोर्ट कम्पनी ले अन्नपूर्ण गाउँपालिका–२ नागढङ्गामा सुरु गरेको हो।
रसुवा–मल्टि जेभीले ४,३१९ मिटर लामो सुरुङको निर्माण धमाका विधिबाट थालेको छ। सुरुङको अडिट दूरी ४५९ मिटर रहेको छ। सुकुबगरमा १२ मिटर अग्लो र ३५ मिटर लामो बाँध बनाइ १५१ मिटरको उचाइबाट नौनीबगरस्थित भूमिगत विद्युतगृहमा पानी खसालिनेछ।
रन अफ रिभर प्रकृतिको आयोजनाको सम्पूर्ण संरचना भूमिगत हुनेछ। २२० केभी क्षमताको दाना सवस्टेशनमार्फत उत्पादन विद्युत् केन्द्रिय प्रसारण प्रणालीमा जोडिनेछ। आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ।
कुल लागत १२ अर्ब ९३ करोड रुपैयाँ अनुमान गरिएकोमा नबिल बैंकको नेतृत्वमा ६ वाणिज्य बैंकले ७५ प्रतिशत ऋण तथा बाँकी प्रवर्द्धक र सेयर लगानीकर्ताबाट पूँजी जुटाइने सम्झौता यस अघि नै भइसकेको छ । जसमा नबिलले ३ अर्ब १२ करोड एभरेष्ट बैंकले २ अर्ब र इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब, नेपाल बैंकले राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब, प्रभु बैंकले १ अर्ब रूपैया लगानी गर्नेछन् ।
नेपाल विद्युत् प्राधिकरणसँगको सम्झौतानुसार हिउँदमा ८.४० र वर्षायाममा ४.८० रुपैयाँ प्रतियुनिटमा विद्युत् बिक्री हुनेछ। हिउँदमा १ अर्ब ९ करोड र बर्खामा १ अर्ब ३३ करोड आम्दानी हुने अनुमान छ।
कालीगण्डकी बेसिनमा हाल ६५ मेगावाटको माथिल्लो कालीगण्डकी र १८० मेगावाटको कालीगण्डकी गर्ज समेत निर्माणको तयारीमा छन्।
नेपालपत्र संवाददाता