आइतबार, आश्विन १८ गते २०८३

नारायणघाट–बुटवल सडक विस्तारको लागि थपियाे एक वर्ष म्याद


श्रावण १८, २०८२ आइतबार
नारायणघाट–बुटवल सडक विस्तारको लागि थपियाे एक वर्ष म्याद

सरकारले नारायणघाट–बुटवल सडक विस्तारका लागि चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको म्याद चौथो पटक थप गरेको छ। यो पटक एक वर्षको समयावधि थपिएको हो।

आयोजना निर्देशनालयअन्तर्गत पूर्वी खण्ड हेर्ने कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पूर्वी खण्ड गैंडाकोटदेखि दाउन्नेसम्मको म्याद २०८३ साउन ७ गतेसम्म र पश्चिम खण्ड दाउन्नेदेखि बुटवलसम्मको म्याद २०८३ साउन ५ गतेसम्म कायम गरिएको छ। 

निर्माण कम्पनीले डेढ वर्षको म्याद मागे पनि, एक वर्षमा ९० प्रतिशत काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएपछि म्याद थपिएको हो। यसअघि तेस्रो पटक थपिएको म्याद साउन ८ गते सकिएको थियो। तर प्रक्रिया पूरा गरेर विभागबाट स्वीकृति प्राप्त भएपछि मात्रै आज म्याद थप गरिएको पत्र हस्तान्तरण गरिएको इन्जिनियर खनालले जानकारी दिए। कुल ११३ किलोमिटर लामो सडक दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ। ठेकेदार कम्पनीका इन्जिनियर राकेश झाका अनुसार अहिलेसम्म ७० प्रतिशत भौतिक प्रगति भएको छ।

उनका अनुसार, एकतर्फी रूपमा १०० किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने दुवै तर्फ हालसम्म ८० किलोमिटर सडक मात्रै कालोपत्रे गरिएको छ। सबैभन्दा चुनौतीपूर्ण मानिएको दाउन्ने खण्डमा सडक ढलानको काम तीव्र गतिमा भइरहेको छ। पछिल्लो दुई साता यता भारी वर्षा नहुनु र मौसम अनुकूल रहँदा ढलानको काममा तीव्रता आएको हो।

हालसम्म पूर्वी खण्डमा ८ सय मिटर, र पश्चिम खण्डमा १ .३ किलोमिटर ढलान सकिएको छ। अब पूर्वी खण्डमा थप ४ किलोमिटर र पश्चिममा ३ किलोमिटर सडक ढलान गर्ने तयारी भइरहेको छ। दाउन्ने खण्डमा पर्ने करिब १४ किलोमिटर सडकमध्ये पश्चिमतर्फ ३ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। आयोजनाले दसैँअघि नै दाउन्ने खण्डको सडक कालोपत्रे सम्पन्न गर्ने लक्ष्य लिएको छ।