काठमाडौं, नेपाल उद्योग परिसंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तबीच बिहीबार भएको छलफलमा उद्योगसँग शिक्षाको समन्वयलाई प्राथमिकतामा राख्ने सहमति जुटेको छ ।
छलफलका क्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सीपयुक्त जनशक्ति उत्पादनमा शिक्षा क्षेत्रको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उद्योगसँग जोडिएको शिक्षात्मक संरचना आवश्यक रहेको धारणा राखे । त्यसका लागि परिसंघमा ‘शिक्षा तथा सीप समिति’ गठन गरिएको जानकारी गराउँदै, उद्योगका आवश्यकता अनुसारको पाठ्यक्रम विकास तथा विश्वविद्यालयहरुसँग सहकार्य भइरहेको बताए।
सो अवसरमा मन्त्री पन्तले उत्पादनमुखी शिक्षाको आवश्यकता औंल्याउँदै शिक्षालाई उद्योगसँग समन्वय गरेर लैजाने सरकारी नीति रहेको बताए । उनले शिक्षामा निजी क्षेत्रको सहभागिता अनिवार्य भएको उल्लेख गर्दै, सरकार यस क्षेत्रमा सहकार्य गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेका थिए।
छलफलमा परिसंघका पदाधिकारी सदस्य सन्दिप शारडा, महानिर्देशक डा घनश्याम ओझालगायतको सहभागिता रहेको थियो ।
नेपालपत्र संवाददाता