नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई केवल कर्जा असुलीमा सीमित नरही नयाँ कर्जा प्रवाहमा समेत गम्भीर ध्यान दिन निर्देशन दिएको छ। बैंकिङ प्रणालीमा अत्यधिक तरलता रहेको वर्तमान आर्थिक परिवेशमा कर्जा विस्तारमार्फत अर्थतन्त्रलाई गतिशील बनाउन राष्ट्र बैंकले यस्तो सन्देश दिएको हो।
मौद्रिक नीतिको कार्यान्वयन र बैंकहरूको तयारीबारे आयोजित छलफलमा राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले भने, “अहिले बैंकहरू असुलीमै केन्द्रित छन्, तर कर्जा विस्तार नभए अर्थतन्त्र चलायमान हुँदैन।” उनले ऊर्जा, कृषि तथा सूक्ष्म, साना र मझौला उद्यम (एमएसएमई) क्षेत्रलाई प्राथमिकतामा राखी विशिष्टीकृत बैंकिङमा जाने नीतिगत सोच राष्ट्र बैंकको रहेको बताए।
बैठकमा गभर्नर पौडेलले युनिभर्सल बैंकिङको विकल्पबारे समेत खुला छलफल गर्दै, कार्यक्षेत्र परिमार्जन आवश्यक भएको धारणा राखे। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन विधेयकका प्रावधान, विशेष गरी लगानीकर्तालाई ‘एक्जिट प्लान’ सुनिश्चित गर्दै बैंक र व्यवसायीको भूमिका स्पष्ट पार्ने प्रस्तावबारे पनि छलफल भएको सहभागीहरूले जानकारी दिए।
राष्ट्र बैंकले बैंकहरूलाई आगामी ६ महिनाको सम्पत्ति तथा दायित्व व्यवस्थापन योजना पेश गर्न निर्देशन दिएको छ। साथै, छिटोभन्दा छिटो साधारणसभा सम्पन्न गर्न पनि आग्रह गरिएको छ।
नेपालपत्र संवाददाता