काठमाडौं, नेपाल राष्ट्र बैंकले २ अर्ब ९२ करोड रुपैयाँ बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपको रूपमा लगानी गर्न प्रस्ताव खुला गरेको छ। राष्ट्र बैंक, वित्त व्यवस्थापन विभागमार्फत सार्वजनिक गरिएको उक्त प्रस्तावमा वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक र राष्ट्रियस्तरका वित्त कम्पनीहरूले प्रतिस्पर्धात्मक प्रस्ताव पेश गर्न सक्नेछन्।
प्रस्ताव अनुसार ‘क’ वर्गका वाणिज्य बैंकका लागि २ अर्ब ३४ करोड, ‘ख’ वर्गका विकास बैंकका लागि ४३ करोड ६७ लाख, र ‘ग’ वर्गका वित्त कम्पनीका लागि १४ करोड ६२ लाख रुपैयाँको लगानी तोकिएको छ।
राष्ट्र बैंकले लगानी प्रस्तावका लागि विभिन्न प्राविधिक तथा वित्तीय मापदण्ड तोकेको छ। जसमध्ये प्रमुख शर्तहरू यस्ता छन्:
-
बैंकको निष्क्रिय कर्जा (NPL) ८ प्रतिशत र खुद निष्क्रिय कर्जा (Net NPL) ३ प्रतिशतभन्दा नबढेको हुनुपर्ने,
-
न्यूनतम पूँजी अनुपातसहित कायम पूँजी पूरा भएको,
-
बैंकको तरल सम्पत्ति र कर्जा-निक्षेप अनुपात तोकिएको सीमाभित्र रहेको,
-
अघिल्लो आर्थिक वर्षको नाफा नोक्सान विवरण अनुसार संस्थाले खुद मुनाफा गरेको,
-
शिघ्र सुधारात्मक कारबाहीमा परेको भए कम्तीमा ६ महिना अघि फुकुवा भइसकेको हुनुपर्ने,
-
नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत समस्याग्रस्त घोषणा नभएको वा घोषणा फुकुवा भएको कम्तीमा ६ महिना बितेको हुनुपर्ने,
-
सर्वसाधारणका लागि शेयर जारी गरिसकेको हुनुपर्ने।
प्रस्ताव पेश गर्न साउन १५ सम्म समय
साउन ११ गतेसम्म उपलब्ध विभिन्न कोषहरूमा रहेको रकमलाई प्रयोग गर्दै राष्ट्र बैंकले यो लगानी प्रस्ताव ल्याएको हो। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको ढाँचामा विवरणहरू तयार गरी इमेलमार्फत प्रस्ताव पेश गर्नुपर्नेछ। प्रस्ताव पठाउने अन्तिम समय साउन १५ गते राति १२ बजे तोकिएको छ। यो लगानी अवधि सन् २०२५ अगस्ट ११ देखि २०२६ अगस्ट ११ सम्मका लागि, कुल ३६६ दिनको हुनेछ।
नेपालपत्र संवाददाता